Monday Dec 23, 2024
We Are Connecting The World By Real News

दुर्गा प्रसाईको प्रदर्शनमा कोशी प्रदेशबाट कति मानिस जालान् काठमाडौँ ?

मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले मंसिर ७ गते काठमाडौँमा गर्न लागेको प्रदर्शनमा १ हजारदेखि १५ सयसम्म मानिस कोशी प्रदेशबाट जानसक्ने सुरक्षा निकायले अनुमान गरेको छ ।प्रसाईले घोषणा गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’को नाममा मंसिर ७ गते लाखौँ मानिस काठमाडौँमा उतार्ने दाबी गरिएको छ । उक्त प्रदर्शनले देशको व्यवस्था परिवर्तन गर्ने प्रसाईको दाबी छ ।

तर, कोशी प्रदेशको सुरक्षा निकायले भने प्रसाईले झापामा सोमबार गरेको एक कार्यक्रममा मानिसको उपस्थिति नै २ सय कट्न नसकेको जनाएको छ । ‘आफ्नै कोर एरियामा गरेको सोमबारको कार्यक्रममा त मान्छे आएनन् । कहाँबाट काठमाडौँ जान्छन् त्यत्रो मान्छे रु,’ सुरक्षा निकायका एक अधिकारीले भने, ‘आज झापाको सुरुङ्गामा गरेको कार्यक्रममा अधिकतम २ सय मानिस थिए ।’

तर, अरु विभिन्न असन्तुष्ट समूहहरु प्रदर्शनमा सहभागी हुनसक्ने सुरक्षा निकायको अनुमान छ । ‘काठमाडौँको सहभागिताको हिसाबले ११५ हजार मानिस सहभागी हुन सक्छन्,’ उनले भने, ‘तर, कोशी प्रदेशमा हामीले सबै जिल्लामा ट्र्याक गरिरहेका छौँ । हामीले हेर्दा अधिकतम १ हजार, १२ सयको हाराहारीमा मानिस जालान् । १६ सय गाडी कहाँबाट आउँछ रु अनि मान्छे कहाँबाट जानु रु यी हावादारी कुरा हुन् ।

उनले बरु ठूला पार्टी तथा नेताहरुले प्रसाईको विषयलाई महत्त्व दिएको विषय चाहिँ अचम्म लाग्दो रहेको बताए । ‘उसलाई जसरी स्पेस दिन खोजिएको छ । यो उसलाई नेता बनाउने प्रयास हो,’ उनले भने, ‘नेताहरु किन डराएका हुन् भनेर मैले बुझ्नै सकेको छैन ।उता, प्रसाईको अभियानका केन्द्रीय सदस्य तथा झापा सचिवालयका संयोजक देवी संग्रौलाले भने झापा, मोरङ र सुनसरीबाट मात्रै डेढ लाख मानिस काठमाडौँ जाने दाबी गरे ।

‘झापा, मोरङ र सुनसरीबाट डेढ लाख मानिस जान्छन् । आन्दोलन स्वतःस्फूर्त हुन्छ । जनता कुखुराको अण्डा, धान, साग, भक्का बेचेर आन्दोलनमा जानेछन् । जानेहरुको लागि झापा, मोरङ र सुनसरीबाट समन्वय गरेका छौँ,’ उनले भने, ‘४ सय ९५ गाडी मानिस गइसके । आज गएको बसको रेकर्ड भोलि आउँछ । १५ सय बाइकमा मान्छे जान्छन् । त्यस्तै साना गाडी ३ सयको हाराहारी जान्छ ।’

उनले ठुला बसमा जानेहरुका लागि आफूहरुले समन्वय गरिरहेको बताए । त्यस्ता गाडी १९ सयको हाराहारीमा जाने आकलन गरिएको भए पनि १६ सयको हाराहारीमा कन्फर्म जाने उनको दाबी छ ।

उता, प्रसाईले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने स्थानीय प्रशासनले निर्णय गरिसकेको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिएको हो ।

उता, गृह मन्त्रालयले भने दुर्गा प्रसाईले नेतृत्व गरेको समूहले कम्तीमा ५ हजार मानिस उपत्यका बाहिरबाट ल्याउन सक्ने आकलन गरेको छ भने युवा संघले १५ हजार मानिस उतार्ने आकलन छ ।

दुवै पक्षले माइतीघरमा कार्यक्रममा राख्दा झडप हुने सम्भावना भएकाले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेर सम्भावित झडप रोक्ने तयारीमा सरकार छ ।

Facebook Comments