पोखरा ,जेठ १८ गते

संस्कार सहितको शिक्षा विषयमा वरिष्ठ उत्प्रेरक रबिन कटवालद्वारा प्रशिक्षण

बिरौटास्थित बालोदय सेकेण्डरी स्कुलमा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुका अभिभावकहरूका लागि उत्प्रेरणामूलक कार्यक्रम संचालन भएको छ । जेठ १६ र १७ गते विद्यालयको नवनिर्मित भवनको सभाहलमा सञ्चालित उक्त कार्यक्रमको सहजिकरण वरिष्ठ मोटिभेटर, लाइफ कोच तथा कर्पोरट एक्सपर्ट डा. रबिन कटवालले गर्नुभएको थियो ।

“संस्कार सहितको शिक्षा” शिर्षकमा सञ्चालित उक्त कार्यक्रमलाई दुवै दिन बिहानी र दिवा गरी दुई सत्रमा बाडिँएको थियो । पहिलो दिनको बिहानी सत्रमा नर्सरी देखि कक्षा १ तथा दिवा सत्रमा कक्षा २, ३ र १० मा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने दोस्रो दिनको बिहानी सत्रमा कक्षा ४, ५ र ९ तथा दिवा सत्रमा कक्षा ६, ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । बिहानी सत्र ८ बजेदेखि ११ : ३० बजेसम्म तथा दिवा सत्र १२ बजेदेखि ३: ३० बजेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा दुवै दिन गरी १२०० भन्दा बढी अभिभावकहरू लगायत नर्सरीदेखि कक्षा १० सम्म अध्यापनरत शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक चिरपरिचित उत्प्रेरक डा. कटवालले जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा शिक्षा र संस्कार भएकाले बालबालिकाहरूलाई संस्कारयुक्त शिक्षा प्रदान गरी सफल मात्र होइन असल नागरिक बनाउनुपर्ने बताउदै छोराछोरीहरूलाई संस्कार सिकाउनका लागि आमाबाबुहरू पनि नैतिकवान बन्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले सहभागी अभिभावकहरूलाई अरुको देखासिकी गर्ने र हरेक कुरामा दोष मात्र देख्ने बानी छोडेर सकारात्मक सोच लिन तथा आफ्नो ज्ञानको दायरा बढाउनका लागि अध्ययनशील बन्न प्रेरित गर्नुभयो । प्रशिक्षक कटवालले सम्पूर्ण अभिभावकहरूले आफ्ना बालबालिकाहरूका लागि थोरै भए पनि समय छुट्याएर पारिवारिक तथा सामाजिक वातावरणमा घुलमिल गराउदै पढाइमा A+ ल्याउने मात्र होईन बाबुआमाको महत्त्व बुझ्ने र आत्मनिर्भर बनाउनुपर्ने, ग्लोबल सिटिजन बन्न मात्र होइन सभ्य नागरिक बन्न पनि सिकाउनुपर्ने, अन्तरिक्षमा पुग्ने रकेटसँगै घरखर्चको बजेट पनि बुझाउनुपर्ने तथा विदेशमा गएर पैसाको दास बन्ने भन्दा पनि देश बदल्न सबैको आश बन्न सिकाउनुपर्ने कुरालाई विशेष जोड दिनुभयो । शैक्षिक तथा मनोसामाजिक परामर्शकर्ता समेत रहनुभएका डा. कटवालले विभिन्न उदाहरणहरू तथा कथा सन्दर्भहरू जोड्दै उपस्थित सहभागीहरूलाई मन्त्रमुग्ध पारी असल अभिभावक कसरी बन्ने विषयलाई निकै रोचक र प्रभावकारी ढङ्गले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक दुर्गादत्त पगेनीले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको औचित्यबारे प्रष्ट पार्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला पगेनीले कार्यक्रमको अन्त्यमा काठमाडौंबाट आफ्नो व्यस्त समयका बावजुद बालोदयमा प्रशिक्षण दिन आई अत्यन्त मर्मश्पर्शी तवरले सहभागीहरूलाई उत्प्रेरणा दिनुभएकोमा डा. रबिन कटवाललाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले घरका महत्त्वपूर्ण कार्यहरूलाई थाती राख्दै कार्यक्रममा उपस्थित अभिवावकहरूलाई सक्रिय सहभागिताका लागि आभार व्यक्त गर्दै कार्यक्रमलाई भव्य तथा सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई समेत धन्यवाद व्यक्त गर्नुभयो ।

विद्यालयका प्राचार्य टेकनाथ पौडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा छात्राहरुले स्वागत नृत्य प्रस्तुत समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0