
पोखरा ,माघ १७ गते
मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन पोखरा मा फाल्गुण १६ र १७ गते पोखरा बहुमुखी क्याम्पस पृथ्वीचोक मा हुने भएको छ।
इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजना मा विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्सर मेरो डान्स युनिभर्स को सिजन २ को अडिसन पोखरा मा हुने भएको छ। नेपालभित्र र संसारको जुनसुकै कुनैमा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छ भन्ने अभिलाषा को साथ सम्पूर्ण नेपालीभाषी समुदायका लागि यी दुई रियालिटी शोहरु आयोजना गर्ने भएको आज को पत्रकार सम्मेलन मा जानकारी भएको थियो।
२०२३ मा यी दुबै रियालिटी शोहरु को पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको पनि आयोजकले जनाएको थियो ।मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परिवार र पुष्पन प्रधान, गायिका अन्जु पन्त र तृष्णा गुरुग निर्णायक (जज) को भूमिकामा हुनुहुन्छ । यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को जजहरुमा बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दीलिप रायमाझी, चर्चित अभिनेतृ शिल्या मास्के, चर्चित कोरियोग्राफरहरु शंकर बिसी, कविराज गहतराज र किरण हुनुहुने भएको छ ।दुवै शोहरुका लागि चर्चित कार्यक्रम प्रस्तोताहरु अनुबन्धित हुनुभएको छ। जसमा रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखेल र नम्रता श्रेष्ठ हुनुहुने भएको छ । नेपाली मूलका अर्थात् नेपाली जातिका बीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपालीभाषी प्रतिभाहरुलाई जहां बसे पनि आफ्नो सस्कृतिमा गर्व गर्न सक्ने अबसर दिन सकियोस् भन्ने भावनाले यी रियालिटी शोहरु आयोजना गरिएको आयोजक ले जनाएको छ। दोस्रो संस्करणका लागि यूरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड हगकरा र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका विर्तामोड, नेपालगन्ज, पोखरा र काठमाडौमा अडिसनहरु आयोजना गरिने आयोजक ले जनाएको छ ।
बेलायत र आसपासका मुलुकमा बसोवास गर्ने नेपालीजातिका प्रतिभाहरुका लागि यही फेब्रुअरी १५ र १६ मा लण्डनमा अडिसन हुने भएको छ ।दुवै शोका विजेताहरुलाई १ करोड नेपाली रुपैया पुरस्कार स्वरुप प्रदान गरिने छ भने दोस्रो हुनेलाई २५ साख रुपैया र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने भएको छ । करिब अनुमानित खर्च ४ मिलियन अमेरिकी डलर हुने भएको आयोजक ले जनाएको छ। भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस प्रतिष्पर्धीहरु काठमाडौं लगिने र सहभागी प्रतिभाहरुको स्तर हेरी बढीमा ५ जनासम्म छनौट गरी अर्को राउण्डका लागि नेपाल लगिने भएको छ । सहयोगको अति आवश्यकता परेका तर सहयोग नपाएका मानिसहरुको सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने विश्वास राख्ने फाउण्डेसनका लागि अपसी सम्मान, इमान्दारिता र मानवीय सेवा मार्गदर्शन हुन्, आदर्श हुन् भने यिनै आदर्शभित्र रहेर यी दुई अन्तर्राष्ट्रियस्तरका दुई रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सलाई अधि बढाउने प्रण गरेको आजको पत्रकार सम्मेलन मार्फत आयोजक ले जनाएको छ। दुबै प्रतियोगिताका लागि प्रतियोगीको उमेर १८ वर्ष पुगेको हुनुपर्नेछ। नेपालका लागि १६ बर्ष उमेर पुगेको हुनुपर्ने आयोजकले बताएको छ। शो को कार्यक्रमहरु नेपाल टेलिभिजन बाट प्रत्यक्ष प्रशारण हुने भएको छ।

