जेठ २० गते, काठमाडौं । बौद्ध महोत्सव २०८३ नेपालको मौलिक धर्म, संस्कृति र कलालाई विशेष प्रदर्शनी गरिने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ६ को आयोजनामा हुन लागेको महोत्सव धर्म, संस्कृति, कला तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित हुने भएको हो।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा आयोजना हुने महोत्सव बौद्धनाथ परिसरमा शनिवार बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ।
महोत्सवमा हिमाल, पहाड र तराईका विभिन्न समुदायका धर्म, संस्कृति, कला, भेषभूषा, खानपान तथा रहनसहन झल्किने विविध प्रस्तुति रहने काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष भुवन लामाले जानकारी दिए। उनका अनुसार बौद्धनाथ परिसरमा कला, संस्कृति, मौलिकता र ऐतिहासिक पक्ष झल्काउने विशेष प्रदर्शनीसमेत आयोजना गरिनेछ।

महोत्सवमा विभिन्न संघसंस्था तथा समुदायले आ–आफ्ना सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्। हिमाली शेर्पा सांस्कृतिक केन्द्रले टुङ्ना वादनसहित शेर्पा स्वागत गीत तथा शेर्पा नृत्य प्रस्तुत गर्नेछ भने यलुङ बुद्ध समाजले स्वयंसेवक परिचालनसँगै शेर्पा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नेछ। हेल्मो समुदायले स्वयंसेवक परिचालन, सांस्कृतिक कार्यक्रम तथा परम्परागत भाँडाकुँडाको प्रदर्शनी गर्नेछ।
त्यस्तै तामाङ सेवा केन्द्र नेपालले निःशुल्क पानी वितरण गर्नेछ भने कर्मारोङ सेवा समाजले परम्परागत भेषभूषासहित सांस्कृतिक प्रस्तुति र हिमाली कला प्रदर्शन गर्नेछ। हुम्लाका प्रतिनिधिहरूले हिमाली सांस्कृतिक कार्यक्रमअन्तर्गत प्रसिद्ध स्याब्रु नाच प्रदर्शन गर्नेछन्।
नेवार समुदायले परम्परागत लाखे नाच प्रस्तुत गर्नुका साथै नेवारी खानाका परिकारका स्टल सञ्चालन गर्नेछन्। यस्तै, मुगु सेवा समाजले मौलिक भेषभूषामा नृत्य प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
महोत्सवको अर्को आकर्षणका रूपमा वरिष्ठ फोटो पत्रकार रत्नमान आँशुले बौद्धनाथको ऐतिहासिक महत्व झल्काउने दुर्लभ तस्बिरहरूको प्रदर्शनी गर्नेछन्। उक्त प्रदर्शनी ठूलो घण्टी नजिक रहेको बौद्ध तथा मेलम्ची घ्याङ गुठीको भवनमा राखिनेछ।
सांस्कृतिक नाचगानका लागि बौद्धनाथ परिसरमा विशेष स्टेज निर्माण गरिनेछ भने ख्यातिप्राप्त ब्याण्डहरूको भव्य सांगीतिक प्रस्तुति महेन्द्र माध्यमिक विद्यालयको चौरमा हुनेछ।
महोत्सवमा विभिन्न समुदायका सांस्कृतिक झाँकी अवलोकन गर्न पाइनेछ भने मौलिक खानाका परिकारका स्टलहरू पनि आकर्षणका केन्द्र बन्नेछन्।
विद्यालयहरूको सहभागितासमेत रहने महोत्सवमा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, रोबोटिक्स प्रदर्शन, नेपाली मौलिक जाँतो र ढिकीको प्रदर्शन, लाइभ फेस पेन्टिङ, तामाङ सेलो, गुरुङ नृत्य, थारु नृत्य, चर्या नृत्य तथा कला र पेन्टिङ प्रदर्शनी प्रस्तुत गर्नेछन्।
विभिन्न जातजाति, भाषा, संस्कृति र परम्पराको संगमका रूपमा आयोजना हुन लागेको बौद्ध महोत्सव–२०८३ लाई भव्य र ऐतिहासिक बनाउने तयारी गरिएको आयोजकहरूले बताएका छन्।


