सप्तगण्डकी क्याम्पसमा राष्ट्रिय सम्मेलन हुने

भरतपुर,जेठ २२ गते

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले जेठ २२, २३ र २४ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । ‘दिगो भविष्यका लागि उच्च शिक्षामा नवीन तथा रूपान्तरणकारी अभ्यास’ विषयक राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

क्याम्पसले पहिलोपटक यस्तो सम्मेलन गर्न लागेको हो । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा देशभरिका विभिन्न क्याम्पसबाट शैक्षिक व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम हुन लागेको हो । सम्मेलनले उच्च शिक्षामा अनुसन्धान संस्कृति प्रवद्र्धन, शैक्षिक नवप्रवर्तनको विस्तार तथा अन्तरसंस्थागत सहकार्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

उच्च शिक्षामा दिगोपना, रूपान्तरणकारी शिक्षण पद्धति, दिगो व्यवस्थापन, सामाजिक न्याय तथा प्रविधिमैत्री नवप्रवर्तनका विषयमा बहुआयामिक विमर्श गर्ने उद्देश्यले आयोजना हुन लागेको यस सम्मेलनले शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूलाई एक साझा मञ्च प्रदान गर्ने आयोजक सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख खिमलाल दाहालले बताए ।

सम्मेलनको मूल उद्देश्य दिगोपना, रूपान्तरणकारी शिक्षा, दिगो व्यवस्थापन तथा प्रविधिमा आधारित नवीन अभ्यासहरूका विषयमा विद्वान्, अभ्यासकर्ता अनुसन्धानकर्ता तथा विद्यार्थीहरूबीच ज्ञान, अनुभव र अनुसन्धानका निष्कर्षहरूको आदान–प्रदान गराउनु रहेको क्याम्पसका अनुसन्धान व्यवस्थापन सेलका प्रमुख प्रा.डा कपिलदेव सुवेदीले जानकारी दिए ।

पाच विषयमा छलफल तथा अनुसन्धान हुने उनले बताए । जसमा ट्रान्सफरमेटिभ एजुकेशन एण्ड रिसर्च, क्लाइमेट एक्सन एण्ड इन्भारोमेन्टल सस्टेनाविलिटि, टेक्नोलोजि इन्हान्सड इन्नोभेटिब प्याडागोजी, इक्वीटी, इन्क्लुजन र सोसल जस्टीस, सस्टेनयवल म्यानेजमेण्ट एण्ड लिडरसिप डेभलपमेन्ट विषय रहेका छन् ।

सम्मेलनमा नेपालका पाच विश्वविद्यालयका शिक्षाविद् तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहनेछ । सम्मेलनका लागि प्राप्त शोधसार मध्ये छनोट गरिएका ५८ वटा अनुसन्धान कार्यहरू १० वटा प्राविधिक सत्रमार्फत प्रस्तुत गरिनेछन् ।

सम्मेलनमा छ वटा प्रमुख वक्तव्य तथा पूर्णसत्र सञ्चालन गरिनेछन् । पूर्णसत्रमा मुख्य वक्तामा त्रिविका रजिष्ट्रार प्रो.डा महानन्द चालिसे, प्रो.डा विद्यानाथ कोइराला, काठमाडौं विश्वविद्यालयका प्रो.डा गजेन्द्र शर्मा, काठमाडौं विश्वविद्यालयका एसोशिएट डिन डा. विनोदप्रसाद पन्त, नेपाल खुला विश्वविद्यालयका एशोसियट प्रो. डा. खगेन्द्र प्रसाई, त्रिविका एसिस्टेण्ट प्रो. डा. रमेशराज पन्तलगायत सहभागी हुने छन् । भरतपुर महानगरपालिका, चितवन उद्योग वाणिज्य संघ तथा मौलाकाली केबलकार सम्मेलनको सहकार्य तथा सहयोगी संस्थाका रूपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0