व्यवसायीका समस्या सुन्दै घरदैलोमा शोभा गौतम नेतृत्वको टोली

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन नजिकिँदै, व्यवसायीका सुझावलाई कार्ययोजनाको आधार बनाउने प्रतिबद्धता

पोखरा,भदौ १५ गते  । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको टोली उद्योगी–व्यवसायीको घरदैलोमा व्यस्त बनेको छ ।

भदौ २० र २१ गते हुने महाधिवेशनलाई लक्षित गर्दै गौतम नेतृत्वको टोलीले व्यवसायी भेटघाट तथा घरदैलो अभियानलाई तीव्रता दिएको हो । अभियानका क्रममा टोलीले विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, अपेक्षा तथा संघबाट गर्नुपर्ने कामबारे सुझाव संकलन गरिरहेको छ ।

गौतमले आफू नेतृत्वमा पुग्नका लागि मात्र नभई व्यवसायीका वास्तविक समस्या र आवश्यकता बुझ्दै संघलाई अझ प्रभावकारी तथा व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउने उद्देश्यले घरदैलो अभियान सञ्चालन गरिएको बताइन् ।

“व्यवसायीका वास्तविक आवश्यकता र अपेक्षा बुझेर अघि बढ्नु नै हाम्रो पहिलो प्राथमिकता हो,” गौतमले भनिन्, “सबै व्यवसायीको सुझाव र अनुभवलाई समेटेर संघलाई अझ बलियो, पारदर्शी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने हाम्रो प्रतिबद्धता हो ।”

संघमा लामो समयदेखि सक्रिय रहँदा प्राप्त संस्थागत अनुभव तथा आफ्नो व्यावसायिक यात्राबाट सिकेका विषयलाई आगामी नेतृत्वमा उपयोग गर्ने गौतमले बताइन् । व्यवसायीबीचको सहकार्य र संवादलाई थप बलियो बनाउँदै संघलाई सबै क्षेत्र, वर्ग र पुस्ताका व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्ने उनको भनाइ छ ।

गौतमले विशेषगरी युवा तथा महिला उद्यमीलाई व्यवसायिक नेतृत्वमा थप जोड्ने, नयाँ पुस्तालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने तथा व्यवसाय विस्तारका लागि आवश्यक सहजीकरण गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेकी छन् ।

“संघ सबै व्यवसायीको साझा घर हो । यहाँ हरेक व्यवसायीले आफ्नो आवाज सुन्ने र आफ्ना समस्या राख्ने वातावरण हुनुपर्छ,” उनले भनिन्, “अनुभव भएका अग्रजको ज्ञान र नयाँ पुस्ताको ऊर्जालाई एकै ठाउँमा ल्याएर पोखराको उद्योग–व्यवसाय क्षेत्रलाई थप गतिशील बनाउन चाहन्छौँ ।”

घरदैलो अभियानका क्रममा व्यवसायीहरूले बजारको अवस्था, लगानी, बैंकिङ, कर, पूर्वाधार तथा व्यवसाय सञ्चालनका क्रममा देखिएका विभिन्न समस्याबारे आफ्ना धारणा र सुझाव राखिरहेका छन् । गौतम नेतृत्वको टोलीले व्यवसायीबाट प्राप्त सुझावलाई आगामी कार्ययोजना निर्माणको महत्वपूर्ण आधार बनाउने जनाएको छ ।

महाधिवेशनमा गौतमले आफूलाई अनुभव, संस्थागत निरन्तरता र नयाँ सोचको संयोजनसहितको नेतृत्वका रूपमा प्रस्तुत गरेकी छन् । व्यवसायीबीच सहकार्य, संवाद र समन्वयलाई प्राथमिकता दिँदै संघको संस्थागत साखलाई थप उकास्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा विभिन्न उम्मेदवार तथा समूहले व्यवसायी भेटघाट र प्रचार अभियानलाई तीव्र बनाएका छन् । गौतम नेतृत्वको टोलीले भने घरदैलोमार्फत उद्योगी–व्यवसायीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षालाई प्राथमिकताका साथ सुन्ने अभियानलाई निरन्तरता दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0