
काठमाडौँ, चैत्र १ गते
गैरसरकारी संस्था महासङ्घ नेपालको केन्द्रीय कार्य समितिका नवनिर्वाचित पदाधिकारीहरूले आज सम्माननीय सभामुख देवराज घिमिरेसँग भेटघाट गर्नुभएको छ। यस भेटघाटमा मुख्यतया तीन विषयहरूमा सभामुखलाई जानकारी गराइएको थियो । गैसस महासङ्घ नेपालको ११ औं महाधिवेशनले अर्जुन भट्टराईको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको कुरा जानकारी गराउँदै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको परिचय गराइएको छ । साथै राष्ट्रिय नागरिक सम्मेलनको निष्कर्षको रूपमा तयार पारिएको घोषणापत्र पनि सभामुखलाई हस्तान्तरण गरिएको छ । यसैगरी नेपाल सरकारले सङ्घ संस्थाहरूको दर्ता तथा सञ्चालनका लागि नयाँ एकीकृत ऐनको मस्यौदा तयार गर्ने कार्य सुरु गरेको सन्दर्भमा सङ्घ संस्थाहरूसँग पर्याप्त समन्वय र परामर्शका आधारमा मात्र कानुन निर्माण गर्न पनि सभामुखको ध्यानाकर्षण गराइएको छ ।
नयाँ ऐनलाई मानव अधिकार, लोकतन्त्र, सामाजिक सङ्घ संस्था र नागरिक समाज मैत्री बनाउन पनि सभामुखलाई आवश्यक पहल गर्न अनुरोध गरिएको छ ।सभामुख घिमेरेले सामाजिक सङ्घ संस्थाहरूप्रतिको छवी सुधार्न सुझाव दिँदै सङ्घ संस्थाहरूले आफ्ना क्रियाकलापहरू राष्ट्रिय प्राथमिकता र हित अनुकूल भएको सुनिश्चित गर्न पनि सुझाव दिनुभयो । सङ्घ संस्थामैत्री कानुन निर्माणका लागि सङ्घ संस्थाहरू र सरोकारवालाहरूसँग पर्याप्त परामर्श र छलफल पछि मात्रै अगाडि बढाउनुपर्ने बतउँदै यस सन्दर्भमा आफ्नो प्रयास सकारात्मक रहने पनि प्रतिबद्धता सभामुखले व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
