
पोखरा, असार ८ गते
विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितताको प्रमाणपत्र (QAA) प्राप्त नेपालकै अग्रणी सामुदायिक शैक्षिक संस्था कालिका बहुमुखी क्याम्पसले एमबीएस अध्ययनरत विद्यार्थी तथा प्राध्यापकहरूका लागि डिजर्टेसन तथा अनुसन्धान प्रस्तावना (Research Proposal) लेखन सम्बन्धी एकदिने कार्यशाला सम्पन्न गरेको छ। क्याम्पस प्रमुख प्राध्यापक बिरञ्जी गौतमको प्रमुख आतिथ्यता तथा व्यवस्थापन विभाग प्रमुख सन्तोषमणि लामिछानेको सभापतित्वमा सम्पन्न कार्यशालामा करिब ४० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा क्याम्पस प्रमुख प्राध्यापक बिरञ्जी गौतमले उच्च शिक्षा, अनुसन्धान तथा दैनिक जीवनका विविध क्षेत्रमा सफलता प्राप्त गर्न अनुसन्धानको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। अनुसन्धान शैक्षिक आवश्यकता मात्र नभई नवीन ज्ञान सिर्जना, समस्या समाधान तथा व्यावसायिक दक्षता विकासको आधार भएको उल्लेख गर्दै उहाँले अनुसन्धानबाट प्राप्त ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न सके मात्र त्यसको वास्तविक उपलब्धि हासिल हुने धारणा व्यक्त गर्नुभयो। क्याम्पसमा अनुसन्धानमुखी शैक्षिक वातावरण निर्माणलाई निरन्तर प्राथमिकता दिइरहने उहाँले बताउनुभयो।
सभाध्यक्ष तथा व्यवस्थापन विभाग प्रमुख सन्तोषमणि लामिछानेले यस्ता कार्यशालाले विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्नुका साथै गुणस्तरीय डिजर्टेसन तथा प्रतिवेदन लेखनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले अनुसन्धान संस्कृतिको विकासका लागि क्याम्पसले शैक्षिक तथा अनुसन्धानमूलक कार्यक्रमलाई निरन्तरता दिइरहेकेमा आभार प्रकट गर्दै कार्यशाला विद्यार्थीहरुको लागि अत्यन्त उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यशालाका प्रमुख स्रोत व्यक्ति त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा. जसबहादुर गुरुङले अनुसन्धान प्रस्तावना तथा डिजर्टेसन लेखनका आधारभूत सिद्धान्त, अनुसन्धान शीर्षक छनोट, समस्या कथन निर्माण, उद्देश्य निर्धारण, अनुसन्धान विधि, सन्दर्भ सामग्री व्यवस्थापन तथा प्रतिवेदन लेखनका प्राविधिक पक्षबारे सहजीकरण गर्नुभयो। उहाँले गुणस्तरीय अनुसन्धानका लागि स्पष्ट अनुसन्धान समस्या, वैज्ञानिक विधि तथा व्यवस्थित लेखन शैली आवश्यक हुने बताउनुभयो।
कार्यक्रमका सहजकर्ता तथा शिक्षा विभाग प्रमुख लोकनाथ सुवेदीले अनुसन्धानलाई केवल शैक्षिक कार्यका रूपमा नभई आलोचनात्मक सोच, निर्णय क्षमता तथा ज्ञान निर्माणको प्रभावकारी माध्यमका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। अनुसन्धानले विद्यार्थीलाई वास्तविक जीवनका समस्या पहिचान गर्न, तिनको समाधान खोज्न तथा शैक्षिक ज्ञानलाई व्यवहारसँग जोड्न सहयोग गर्ने उल्लेख गर्दै उहाँले अनुसन्धानमुखी सिकाइले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, कालिका बहुमुखी क्याम्पसका उपप्राध्यापक सुनिल कोइरालाले अनुसन्धान प्रस्तावना तयारी, डिजर्टेसन संरचना तथा प्रतिवेदन लेखनका व्यावहारिक पक्षबारे सहजीकरण गर्नुभएको थियो। कार्यशालाका क्रममा सहभागीहरूबीच अनुसन्धान शीर्षक छनोट, अनुसन्धान समस्या पहिचान तथा प्रस्तावना लेखन प्रक्रियाबारे अन्तरक्रियात्मक छलफलसमेत भएको थियो।
कार्यशालाको विशेष उपलब्धिका रूपमा सहभागी सबै विद्यार्थीहरूले आ–आफ्ना अध्ययन तथा अनुसन्धान रुचिअनुसारका विषयमा अनुसन्धान प्रस्तावनाको प्रारम्भिक मस्यौदा (Draft Proposal) तयार गर्ने अभ्यास गरेका थिए। सहजीकरण, समूह छलफल तथा प्रत्यक्ष अभ्यासमार्फत सहभागीहरूले आफ्ना प्रस्तावनालाई थप परिष्कृत गर्ने अवसर प्राप्त गरेका थिए।
सहभागीहरूको तर्फबाट प्रतिक्रिया व्यक्त गर्दै एमबीएसका विद्यार्थी रेखादेवी श्रेष्ठले कार्यशाला अत्यन्त फलदायी, व्यवहारिक तथा अनुसन्धान लेखन सीप विकासका लागि सहयोगी रहेको बताउनुभयो। उहाँले अनुसन्धान प्रस्तावना तथा डिजर्टेसन लेखन प्रक्रियालाई व्यवहारिक रूपमा बुझ्ने अवसर प्राप्त भएको उल्लेख गर्दै आफ्नै अनुसन्धान शीर्षकमा प्रस्तावना तयार गर्ने अभ्यासले आत्मविश्वास बढाएको बताउनुभयो। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई गुणस्तरीय अनुसन्धानतर्फ प्रेरित गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।
बिहान ७ बजेदेखि साँझ ५:३० बजेसम्म सञ्चालन भएको कार्यशालाको सहजिकरण सहायक क्याम्पस प्रमुख युवराज गुरुङले गर्नुभएको थियो। सहभागीहरूले कार्यशालाबाट प्राप्त ज्ञान तथा सीप आगामी अनुसन्धान तथा डिजर्टेसन लेखनमा उपयोगी हुने विश्वास व्यक्त गरेका थिए।

