
पोखरा पुष २९ गते
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा को आ.व. 2082/083 स्वीकृत कार्यक्रम अन्तर्गत खाद्य स्वच्छताका आधार होटल स्तरीकरण तथा लोगो वितरण कार्यक्रम सम्पन्न गरिएको छ | कार्यक्रमको पहिलो चरणमा मिति २०८२/०८/२५ गते पोखरा स्थित होटेल रेस्टुरेन्ट व्यवसायी हरुलाई खाद्य स्वच्छताको आधारमा होटेल रेस्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४ मा रहेका प्रावधानहरु तथा होटेल रेस्टुरेन्टमा खाद्य स्वच्छता कायम गर्न अपनाउनु पर्ने अभ्यासका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो | अभिमुखीकरण कार्यक्रम पश्चात निर्देशिका बमोजिमको समिति गठन गरि अभिमुखीकरण कार्यक्रममा सहभागी भएका तथा स्तरीकरणका लागि निवेदन दिएका होटेल रेस्टुरेन्टहरुको विभिन्न मितिमा निरीक्षण गरि मुल्यांकन गरिएको थियो |
सो मुल्यांकनका आधारमा सम्बन्धित होटेल तथा रेस्टुरेन्ट व्यवसायहरुलाई स्तरीकरण गरि आज मिति २०८२/०९/२८ गते लोगो तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरि व्यवसायीहरुलाई लोगो तथा प्रमाणपत्र वितरण गरियो | उक्त कार्यक्रमको अध्यक्षता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका कार्यालय प्रमुख विजन श्रेष्ठले गर्नु भएको थियो भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. जानुका पण्डित प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो | कार्यक्रममा रास्ट्रिय उपभोक्ता मंच कास्कीका अध्यक्ष राजेन्द्र लिगल तथा होटल एसोसिएसन नेपाल (हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदी अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो | कार्यक्रम संचालक खा.नि.अ. अशोक गौतमका अनुसार जम्मा एघार वटा व्यवसायहरुको मुल्यान्कन गर्दा अतिउत्तम स्तरका ६ वटा, उत्तम स्तरको एक, सन्तोषजनक स्तरको एक, सामान्य स्तरको एक र स्तरीकरणमा नपरेका दुई व्यवसाय रहेका थिए | तिनवटा तारा सहितको हरियो स्टिकर (अतिउत्तम स्तर) पाउनेमा फ्लिप नेपाल रिसोर्ट प्रा. लि., पोखरा-२४, होटल फिस्टेल लज, पोखरा-६, साराङ्कोट माउन्टेन रेसोर्ट एण्ड स्पा प्रा. लि. पोखरा-१८, होटेल बाराही प्रा. लि. पोखरा-६, होटल पौवा पोखरा-६ र ड्याडीज चिप्लेढुंगा पोखरा-९ रहेका छन् |
दुइवटा तारा सहितको हरियो स्टिकर (उत्तम स्तर) पाउनेमा मारवाडी सेवा भोजनालय, पोखरा-४, एउटा तारा सहितको हरियो स्टिकर (सन्तोषजनक स्तर) पाउने मा सेभेन स्टार रेस्टुरेन्ट एंड बार प्रा.लि. पोखरा ८ तथा पहेलो स्टिकर (सामान्य स्तर) पाउनेमा होटेल देउराली मारवाडी प्रा. लि. पोखरा-९ रहेका छन् | यस्तै होटेल बाराही स्विट्स प्रा.लि.का दुईवटा शाखाहरुहरुको मुल्यांकन गर्दा ५० अंक भन्दा कम ल्याएका कारण स्तरीकरणमा पर्न सकेका थिएनन् | कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. जानुका पण्डितले स्तरीकरणमा परेका व्यवसायीहरुलाई बधाई दिदै सदैव खाद्य स्वच्छता प्रति प्रतिवद्ध रहन निर्देशन दिनु भयो | कार्यक्रमका अध्यक्ष कार्यालय प्रमख विजन श्रेष्ठले खाद्य स्वच्छता संवेदनशील विषय रहेकोले यसमा विषेश ध्यान दिन आग्रह गर्नु भयो साथै पोखरा पर्यटकीय राजधानी समेत रहेकोले यहाँका खाद्य स्वच्छता कायम गर्नका लागि धेरै भन्दा धेरै होटेल रेस्टुरेन्टहरुलाई स्तरीकरण कार्यक्रममा समेट्दै लैजाने बताउनु भयो |

