
पोखरा ,माघ १६ गते
सहिद दिवस, २०८२ को अवसरमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्युले दिनुभएको शुभकामना सन्देश ।
आज माघ १६ गते, सहिद दिवसको अवसरमा देश र जनताका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
एक सय चार वर्ष लामो जहानियाँ राणा शासन विरुद्धको आन्दोलनमा जीवन उत्सर्ग गर्ने चार सहिद, विभिन्न कालखण्डका राजनीतिक, सामाजिक र लोकतान्त्रिक आन्दोलनहरूमा सहादत प्राप्त गर्ने सबै सहिदहरूको बलिदानकै कारण हामीले लोकतान्त्रिक अधिकार, स्वतन्त्रता र संघीय व्यवस्थाको अनुभूति गर्न पाएका छौँ । सहिदहरूको साहस, त्याग र प्रतिबद्धताले नै नेपाली जनतालाई आफ्ना हक अधिकार प्रयोग गर्ने आत्मविश्वास जगाएको छ ।
आजको परिवेशमा सहिदहरूको बलिदान स्मरणमा सीमित नराखी व्यवहारमा उतार्नु हामी सबैको साझा दायित्व हो । सहिदहरूको बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै स्वच्छ राजनीतिक संस्कारको विकास, आर्थिक, सामाजिक रूपान्तरण र नागरिकप्रतिको जवाफदेहिता सुनिश्चित गर्नु नै सहिदहरूप्रति सच्चा सम्मान हुनेछ । संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार संघीयताको सवलीकरण गर्दै नागरिकका अपेक्षा पूरा गर्न गण्डकी प्रदेश सरकार प्रतिबद्ध छ ।
लामो संघर्ष पछि संविधानसभा मार्फत् निर्माण भएको संविधान र त्यसअनुसार स्थापित तीन तहका सरकारलाई अझ प्रभावकारी, जनमुखी र विश्वासयोग्य बनाउने काम आपसी सहमति, सहकार्य र साझा उत्तरदायित्वबाट मात्र सम्भव छ । राजनीतिक स्थायित्वसँगै गण्डकी प्रदेश सरकाले लिएको “आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी” को संकल्प पुरा गर्न सरोकारावाला सबैको साथ सहयोग र सहकार्य आवश्यक छ ।
सहिद दिवसले सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र विशेषतः युवा पुस्तालाई लोकतन्त्र सुदृढीकरण र राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
धन्यवाद । जय नेपाल ।
वि.सं. २०८२ माघ १६ गते शुक्रबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

