काठमाडौं : नेपालको सबैभन्दा ठूलो कृषि यन्त्रीकरण प्रदर्शनी ‘एग्री मेक इन्टरनेसनल एक्सपो २०२६’ आगामी शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषियन्त्र, उपकरण र प्रविधि प्रदर्शन गरिनेछ।‘कृषिको यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित नेपाल कृषि मेसिनरी व्यवसायी संघले प्रदर्शनी आयोजना गर्न लागेको हो।
संघका अध्यक्ष कृष्ण शर्माका अनुसार कृषि कर्मलाई व्यावसायिक बनाउँदै आधुनिक यन्त्र तथा उपकरणको प्रयोगमार्फत उत्पादन लागत घटाउनु र समग्र कृषि व्यवसायको प्रवद्र्धन गर्नु प्रदर्शनीको मुख्य उद्देश्य हो।प्रदर्शनीमा किसान, नीतिनिर्माता, राजनीतिक दलका नेता, सरकारी कर्मचारी, अनुसन्धानकर्ता, विद्यार्थी तथा कृषिसँग सम्बन्धित उद्यमी र व्यवसायीको सहभागिता रहनेछ।आयोजकले तीन दिनमा ५० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गर्ने अनुमान गरेको छ।
अध्यक्ष शर्माका अनुसार नेपालमा वार्षिक करिब १२ अर्ब रुपैयाँबराबरको कृषि मेसिनरीको कारोबार हुँदै आएको छ।ठूला प्रकृतिका कृषि मेसिन अधिकांश विदेशबाट आयात हुने गरे पनि थ्रेसर, ड्रायरलगायत केही सामान्य उपकरण भने नेपालमै उत्पादन हुँदै आएका छन्।
मुलुकको ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आबद्ध रहेकाले आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा आयोजकको छ।
प्रदर्शनीमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ र राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवद्र्धन केन्द्र आयोजकका रूपमा रहेका छन् भने बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहेको छ।
आयोजकका अनुसार प्रदर्शनीमा १ सयभन्दा बढी प्रदर्शक सहभागी हुनेछन्।दुई हजारभन्दा बढी प्रकारका कृषि उपकरण तथा प्रविधि प्रदर्शन गरिने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्।कृषि उद्यम गर्न चाहने नयाँ उद्यमी, युवा तथा किसानलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनी निःशुल्क अवलोकन गर्न सकिने आयोजकले जनाएको छ।स्रोत:annapurnapost.com








