
काठमाडौँ, चैत्र ७ गते
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३० औं बैठक समितिका अध्यक्ष एवं गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धिका लागि विभिन्न स्तरीकृत तालिम मोड्युलका पाठ्यक्रमहरु पारित गर्ने लगायतका निर्णय गरेको छ।
पारित मोड्युलका पाठ्यक्रममा Community Action for Disaster Response (CADRE), Medical First Responder (MFR), Collapsed Structure Search and Rescue (CSSR), Hospital Preparedness for Emergencies (HOPE) र Swift Water Rescue (SWR) छन्।
संघ, प्रदेश तथा स्थानीय तहमा खोज तथा उद्धार समूहको गठन तथा क्षमता विकास गरी प्रभावकारी खोज, उद्धार तथा राहत प्रदान गर्न, विपद् प्रतिकार्यको कमाण्डलाई व्यवस्थित गर्न एवं सुरक्षा निकायहरूबाट सञ्चालन गरिने तालिमको साझा मापदण्ड तयार गर्नका लागि यी पाठ्क्रम महत्वपूर्ण हुने भएका छन्।
बैठकले तीनै तहले विपद्को क्षेत्रमा बिनियोजन गरेको तथा खर्च भएको बजेटलाई पछ्याउन तथा तथ्यांक व्यवस्थित गर्न आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा तीनै तहका सरकारले विपद बजेट कोड राखी बजेट विनियोजन गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयमा लेखी पठाउने निर्णय पनि गरेको छ।
बैठकमा पश्चिम नेपाल भूकम्पपछिको क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि भइरहेको विस्तृत क्षति आँकलन तथा अनुदान वितरणको प्रगति सम्बन्धमा छलफल भयो। जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरुको विस्तृत क्षति आँकलन भइरहेको छ भने यस वर्षको मनसुनजन्य विपद्बाट क्षतिग्रस्त भएका निजी आवासको आगामी साताबाट क्षति आँकलन सुरु गर्ने प्राधिकरणको तयारी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

