पोखरा ,चैत्र ३ गते
नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । पोखरा महानगरपालिकामा भएको भेटवार्तामा दुईपक्षिय हितका सन्दर्भमा छलफल भएको छ ।
सो क्रममा नगर प्रमुख आचार्यले जर्मन सरकारको सहयोगमा पोखरामा सञ्चालित परियोजनाहरूको प्रगति बारे जानकारी गराउँदै कतिपय नीतिगत विषयहरू कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । जर्मन सरकारको स्वामित्वमा दिगो विकास, आर्थिक वृद्धि र वातावरण संरक्षणलाई बढवा दिँदै अन्तर्राष्ट्रिय विकास समन्वयमा क्रियाशील GIZ को सहयोगमा पोखरामा तयार गरिएको पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनको चरणमा रहेको नगर प्रमुख आचार्यले बताउनुभयो । योजना अनुसार गरिबी निवारण र वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिन थप सहकार्यका लागि आफूहरू तत्पर रहेको उहाँले उल्लेख गर्नुभयो ।
साथै नगर प्रमुख आचार्यले पोखरामा पर्यटन पूर्वाधारको निर्माण, सांस्कृतिक आदानप्रदान र जर्मनका नगरहरूसँग भगिनी सम्बन्ध कायम गर्न इच्छुक रहेको उल्लेख गर्दै यसका लागि आवश्यक पहल तथा प्रयत्न गर्न राजदूत युडोलाई अनुरोध गर्नुभयो । उहाँले सम्भव भए पोखरा–जर्मनी अन्तर्राष्ट्रिय उडानको समेत पहलका लागि आग्रह गर्नुभयो ।
जवाफमा राजदूत युडोले आफू पहिलो पटक पोखरा आएकाले यो सहर आफूलाई निकै सुन्दर लागेको उल्लेख गर्नुभयो । भूगोलका हिसाबले पहाडहरूको बिच हिमालको काखमा अवस्थित पोखराको थप विकास, समृद्धि र वातावरणीय सुधारका क्षेत्रमा मिलेर काम गर्न सकिने उहाँले बताउनुभयो । नेपाल र जर्मनीको कुटनैतिक सम्बन्ध लामो समयदेखि पारस्परिक हित र सहकार्यमा आधारित रहेको बताउँदै उहाँले पोखरामा उर्जादक्षता अभिवृद्धि, वातावरणीय सुधार, पर्यटन प्रवर्द्धन तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने गरी थप सहकार्यको पहल गर्ने बताउनुभयो ।
भेटवार्तामा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, प्रवक्ता मोतीलाल तिम्सिना, महानगरको वैदेशिक सम्बन्ध विभाग प्रमुख सुवास ढुङ्गाना लगायतको सहभागिता रहेको थियो ।
स्रोत :पाेखरा महानगरपालिका कार्यालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0