
पोखरा ,चैत्र ११ गते
आर्थिक वर्ष २०८२÷८३ को बजेट तथा राजस्व नीति तर्जुमाका लागि राजस्व परामर्श समितिले पोखराका व्यवसायी तथा सरोकारबालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा व्यवसायीहरूले अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीतिगत सुधार गर्न आग्रह गरेका छन् । व्यवसायीहरूले राजस्व नीतिलाई लगानी तथा व्यवसायमैत्री बनाउन सुझाव दिएका थिए । सो अवसरम बोल्दै राजस्व परामर्श समितिका संयोजक तथा अर्थ मन्त्रालयका राजस्व सचिव दीनेशकुमार घिमिरेले निजी क्षेत्रको मनोवल उच्च पार्ने र अर्थतन्त्रलाई सुधार गर्ने गरी सरकारका नीति तर्जुमा हुने बताए । उनले निजी क्षेत्रका सुझावलाई राजस्वको नीतिगत तथा प्रशासनिक सुधारमा सहभागी गराउन पहल गर्ने प्रतिबद्धता पनि जनाए ।
अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तरकुमार खत्रीले छलफलमा उठेका विषय र सुझावलाई यथोचित सम्बोधन गर्ने बताए । उनले निजी क्षेत्रलाई हतोत्साहित नभइ आशावादी बन्न आग्रह पनि गरे ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सीमा क्षेत्रमा हुने राजस्व चुवावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले निजी क्षेत्र उत्साहित नदेखिएको बताउँदै उनले तयारी सामानमा बढी भन्सार लगाउन राजश्व विभागसँग आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष उत्तममान बुद्धाचार्यले निजी क्षेत्रले बेलाबेला दिने गरेका सुझावहरु कार्यान्वयनमा ल्याउने गरी नीति तर्जुमा गर्न आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका कार्यसमिति सदस्य झलकलाल श्रेष्ठले कृषि उत्पादन बढाउने गरी नीति ल्याउन माग गरे ।
लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्ने धारणा राखे ।
नेपाल उद्योग परिसंघ गण्डकीका अध्यक्ष विनोद न्यौपानेले चोरी निकासी रोक्ने र कच्च पदार्थमा सहुलियत दिने हो भने देशमा उद्योगधन्दा फस्टाउने धारणा राखे ।
पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव सुदीप प्रधानाङ्गले आन्तरिक राजश्व कार्यालय अझै प्रविधिमैत्री हुनुपर्ने राय राखे । चार्टर्ड एकाउन्टेन्स संघ कास्कीका विवेक श्रेष्ठले सरकारले पछिल्लो समय गर्दै आएको फजूल खर्च घटाउनुपर्ने बताए ।
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माको संचालन रहेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका श्रीराम गौतमले शेयर बजारमा छोटो समय गरिने लगानीमा कम शुल्क लिनुपर्ने बताए । चेम्बरकै कोषाध्यक्ष जीवन ढुंगानलाले २५ हजारभन्दा बढी मूल्यका मोवाइल आयात बन्द गर्न सुझाए ।प्लाष्टिक व्यवसायी संघका अध्यक्ष परशुराम तिवारीले साना र ठूला व्यवसायीलाई कर चुक्ताको समय फरक गर्दा किन राजश्व उठने भन्ने विषय मनन गर्न आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सूर्यराज घिमिरेले विदेशबाट सामान ल्याउँदा प्राकृतिक प्रकोपका कारण क्षति हुँदा भ्याट छुट दिन माग गरे । व्यवसायी महेन्द्र पौडेलले अवैध आयातले वैध व्यवसायी मर्कामा परेको बताए । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

