Home Headlines गृहमन्त्री रमेश लेखकले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सबै स्थानीय तहमा आपत्कालीन गोदामघर बनाउनुपर्नेमा जोड दिनुभएको छ

गृहमन्त्री रमेश लेखकले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सबै स्थानीय तहमा आपत्कालीन गोदामघर बनाउनुपर्नेमा जोड दिनुभएको छ

0
काठमाडौँ, बैसाख १४ गते
गृहमन्त्री रमेश लेखकले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सबै स्थानीय तहमा आपत्कालीन गोदामघर बनाउनुपर्नेमा जोड दिनुभएको छ। आज ‘गृहमन्त्री सँग विपद् संवाद’ को शुभारम्भ गर्दै गृहमन्त्री लेखकले विपद्का घटनासँग सबैभन्दा नजिक स्थानीय तह हुने गरेकाले त्यसलाई मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो।
गृहमन्त्री लेखकले भन्नुभयो, “केन्द्रमा बनेका नीतिहरु लागू गर्ने स्थानीय तहले भएकाले स्थानीय तहरूलाई सक्षम बनाउन पनि आपत्कालीन गोदाम घर अनिवार्य भएको छ। प्रत्येक पालिकमा गोदामघर बनाऔँ, त्यो भनेको छुट्टै घर बनाउनुस् भनेको होइन। प्रत्येक पालिका कार्यालयको एउटा कोठालाई गोदामघर भनेर तोकिदिए हुन्छ। त्यसमा आधारभूत सामग्री राखौँ। ती गोदामघरलाई संघ र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरौँ। तर आधार स्थानीयलाई बनाऔँ।”
आजै जल तथा मौसम विज्ञान विभागका महानिर्देशकसँग कुराकानी भएको र पूर्वसूचना गर्न मोबाइलमा मेसेज पठाउने गरिएकोमा ‘रिङटोन’ नै जाने व्यवस्था गर्न सुझाव दिएको जानकारी दिंदै मन्त्री लेखकले भन्नुभयो, “विपद् बाट हुनसक्ने जोखिम तथा क्षति कम गर्न पूर्वसूचना समयमा हुनुपर्यो। त्यसैले पूर्वसूचना प्रणालीलाई अझ स्मार्ट बनाउनुपर्नेछ।”
गृहमन्त्री लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सबै सरोकारवालाहरु सङ्गठित भएर सिकेको ज्ञान, सीप अनुभवले यो क्षेत्रलाई व्यवस्थित गर्न, नागरिकलाई हुनसक्ने जोखिमबाट जोगाउने काम गर्न सकिने पनि उल्लेख गर्दै विपद् व्यवस्थापनमा सञ्चार जगतको महत्त्वपूर्ण भूमिका रहने पनि बताउनुभयो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले मनुसन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार गर्ने कार्य सुरु भइसकेको जानकारी दिंदै यसपटक कार्ययोजना छरितो र जिम्मेवारीहरु प्रष्ट किटान गर्न निर्देशन दिइएको बताउनुभयो। कार्यकारी प्रमुख भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्राधिकरणले प्राज्ञिक तथा संचार जगतसँग मिलेर काम गरिरहेको पनि उल्लेख गर्नुभयो।
आजको संवाद यस वर्षको मनुसन पूर्वतयारी तथा प्रतिकार्यमा केन्द्रित थियो। कार्यक्रममा विपद्का विभिन्न विषयगत विज्ञहरु एवं समुदायमा काम गरिरहेका अगुवाहरुले मनुसन पूर्वतयारी तथा प्रतिकार्यमा गृह मन्त्रालय एवं प्राधिकरणका साथै सरोकारवालाहरुले गर्नुपर्ने कार्यहरुबारे सुझाव तथा धारणा राख्नुभएको थियो।स्रोत :National Disaster Risk Reduction & Management Authority 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here