
काठमाडौं, भदौ १३ गते
एक्मी इन्जिनियरिङ कलेज, बसुन्धरामा दुई दिने एसीआईटी टेक फेस्ट २.० भदौ १२ र १३ गते सम्पन्न भएको छ। कलेजको एसीआईटी (Acme Club of Information Technology) ले आयोजना गरेको कार्यक्रममा +२ र स्नातक तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
फेस्टमा ह्याकाथोन, प्रोजेक्ट एक्जिबिशन, टेक डिबेट, UI/UX प्रतियोगिता, ३डी रेंडरिङ, अटो-क्याड र फोटोग्राफी गरी सातवटा प्रतियोगिता भएका थिए। आयोजकले १ लाख रुपैयाँ बढीको पुरस्कार राशी राखेका थिए।
कार्यक्रमको उदघाटन टोक्हा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गर्नुभयो भने समापन सत्रमा पूर्वाञ्चल विश्वविदयालयका डीन प्रा. डा. भोला नाथ घिमिरे प्रमुख अतिथि हुनुहुन्थ्यो।
टेक डिबेट प्रतियोगितामा विद्यार्थीहरूले क्रिप्टोकरेन्सी वैधानिकीकरण, भिडियो गेम्स र सिर्जनात्मकता, अत्यावश्यक प्रणालीहरूको आउटसोर्सिङ, टिकटक प्रतिबन्ध, सरकारको सोशल मिडिया रेजिस्ट्रेशन अल्टिमेटमजस्ता सामयिक विषयमा बहस गरेका थिए। यी छलफलहरूले विद्यार्थीहरुको समसामयिक विषयप्रतिको गहिरो चासो र आलोचनात्मक सोच स्पष्ट देखाएको थियो।
ह्याकाथोनतर्फ, सहभागीहरूले स्वास्थ्य सहयोग एप, किराना पसल डिजिटलाइजेसन, एआई-आधारित नक्कल नियन्त्रण प्रणाली, टुरिस्ट गाइड प्लेटफर्म, शिक्षक-केन्द्रित एप, र अस्पताल अपोइन्टमेन्ट प्रणालीजस्ता व्यावहारिक र नवप्रवर्तनशील परियोजना विकास गरेका थिए। यी समाधानहरूले आजका वास्तविक चुनौतीहरूलाई सम्बोधन गर्ने खालका प्रविधि-आधारित सम्भावनाहरु प्रस्तुत गरेका थिए।
प्रोजेक्ट एक्जिबिशनमा स्नातकतर्फ केसीसी कलेज विजयी भयो भने +२ श्रेणीमा उर्बाना कलेजका ज्वाला बाबु शाह प्रथम भए।
टेक-केन्द्रित प्रतिस्पर्धासँगै विद्यार्थीहरूले UI/UX प्रतियोगितामा प्रयोगकर्ता-मैत्री डिजिटल डिजाइन प्रस्तुत गरे भने ३डी रेंडरिङ र अटो क्याड प्रतियोगितामा इन्जिनियरिङ र आर्किटेक्चर संकायका विद्यार्थीहरूले आफ्नो प्रविधि-आधारित सिप प्रदर्शन गरेका थिए। यी प्रतियोगिताहरूले सिर्जनशीलता, प्राविधिक क्षमता र व्यावहारिक उपयोगबीचको सम्बन्धलाई उजागर गरेका थिए।
यस फेस्टमा विद्यार्थीहरूले निर्माण गरेको नेपालमै निर्मित इञ्जिनयुक्त विमान, टेलिस्कोपमार्फत ग्रह-तारा अवलोकन तथा स्थानीय स्तरका रमाइला खेलहरु विशेष आकर्षण बने। साथै, सांस्कृतिक प्रस्तुति र रमाइला खेलहरूले माहोल थप उत्साहपूर्ण बनेको थियो।
यस फेस्टमा विद्यालय तहका विद्यार्थीहरूले प्रविधि प्रत्यक्ष हेर्ने अवसर पाए भने, २ र स्नातक तहका विदयार्थीहरूले आफ्ना परियोजना र प्रस्तुति प्रदर्शित गर्ने प्लेटफर्म पाए। स्थानीय बासिन्दाहरूले समेत फेस्ट अवलोकन गरी प्रविधि र नवप्रवर्तनप्रतिको चासो देखाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

