अक्सफोर्ड कलेजद्वारा मौलिक संस्कृतिको प्रवर्द्धन : खुला पञ्चे/नौमती बाजा प्रतियोगिता सम्पन्न

  • ख-
  • ख
  • ख+

गैँडाकोट (नवलपुर), कार्तिक २४ गते
शैक्षिक उत्कृष्टतासँगै सांस्कृतिक उत्थानमा पनि उदाहरणीय योगदान पुर्‍याउँदै आएको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM)ले नेपालको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ खुला पञ्चे/नौमती बाजा प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रम परिवार सेवा समाज, नवलपुरको आयोजनामा तथा अक्सफोर्ड कलेजको प्रवर्द्धनमा कलेजकै प्राङ्गणमा सम्पन्न भएको हो। कार्यक्रमको सभापति परिवार सेवा समाज, नवलपुरका सभापति प्रकाश परियार रहनु भएको थियो भने प्रमुख अतिथि कलेजका प्रिन्सिपल प्रा. डा. इन्जिनियर हरि भण्डारी हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समाजसेवी तथा शिक्षाप्रेमी प्रा. डा. इ. हरि भण्डारीले अक्सफोर्ड कलेजले शैक्षिक उत्कृष्टता मात्र होइन, मौलिक संस्कृतिको सम्बर्द्धनमार्फत देशको पहिचानलाई विश्व समुदायमा उजागर गर्न उल्लेखनीय योगदान पुर्‍याइरहेको बताउनुभयो।
उहाँले पञ्चे बाजालाई नेपाली मौलिक संस्कृति र पहिचानको प्रतीकका रूपमा व्याख्या गर्दै यस्तो परम्परागत बाजाले “नेपालीपन” झल्काउने र राष्ट्रिय गौरव अभिवृद्धि गर्ने उल्लेख गर्नुभयो।
त्यस्तै, उहाँले आधुनिकताको भेलमा मौलिकता हराउन नदिन आग्रह गर्दै विद्यार्थी तथा युवापुस्तालाई आफ्नै संस्कृतिको संरक्षण र जगेर्नातर्फ सक्रिय हुन आह्वान गर्नुभयो।
त्यस्तै, विशिष्ट अतिथि परिवार सेवा समाजका पूर्व केन्द्रीय अध्यक्ष दिल बहादुर परियारले आफ्ना सांस्कृतिक अभियानका अनुभव साझा गर्दै परम्परागत बाजा र संस्कृतिको निरन्तरता आगामी पुस्ताको जिम्मेवारी रहेको बताउनुभयो। साथै, गैँडाकोट नगरपालिका–२ का वडाध्यक्ष प्रकाश सापकोटाले स्थानीय संस्कृति र समुदायबीचको सहकार्यले सांस्कृतिक पुनर्जागरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगितामा १० वटा समूहले दर्ता गराएका मध्ये ६ वटा समूहले प्रत्यक्ष सहभागिता जनाएका थिए। कार्यक्रमको सञ्चालन वडासदस्य साकिला परियारले गर्नुभएको थियो।
त्यसैगरी, निर्णायक संयोजक बिन खाती (तनहुँ) र सदस्यहरू गङ्गा बहादुर पाण्डे (गैँडाकोट) तथा दिपेन्द्र ठकुरी (चितवन) रहनुभएको थियो।
प्रतियोगितामा कालिका फेदी नौमती बाजा समूह प्रथम, कोटथर नौमती बाजा समूह द्वितीय, र माहादेवस्थान नौमती बाजा समूह तृतीय घोषित भएका छन्। विजेता टोलीहरूले क्रमशः पहिलोले रु. ३०,०००, दोस्रोले रु. २०,०००, तेस्रोले रु. १०,०००, र सान्त्वना टोलीहरूले रु. ५,००० का दरले पुरस्कार प्राप्त गरेका छन्।
कार्यक्रमले अक्सफोर्ड कलेजको शैक्षिक मात्र नभई सांस्कृतिक जिम्मेवारीप्रतिको प्रतिबद्धता झल्काएको छ। यस प्रतियोगितामार्फत कलेजले “शिक्षा र संस्कृति हातमा हात मिलाएर अघि बढ्न सक्छन्” भन्ने सन्देश प्रवाहित गरेको आयोजकहरूले बताएका छन्। कार्यक्रमले स्थानीय संस्कृति, परम्परा र आपसी भाइचाराको सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको सर्वत्र प्रशंसा गरिएको छ।

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार