
पोखरा,पुष ३ गते
पोखरा महानगरपालिकाले विभिन्न विद्या मार्फत पोखराको उन्नयन, विकास र प्रवर्द्धन गर्ने व्यक्तित्वहरूलाई पोखरेली रत्नले सम्मान गरेको छ । महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा अवसरमा कवि तीर्थ श्रेष्ठ (साहित्य/विकास), महिला उद्यमी रामकली खड्का (महिला उद्यमशीलता/सशक्तीकरण) र गायक अमृत गुरुङ (गायन/सङ्गीत), सञ्चारकर्मी तिलकमान गुभाजु (पत्रकारिता), चन्द्रकान्त बराल (धार्मिक पर्यटन/कृषि उद्यम), हरि पाण्डे (शिक्षा सेवा/उद्योग), चन्द्रकृष्ण कर्माचार्य (समाजसेवा/उद्यम), डा.बुद्धिबहादुर थापा (स्वास्थ्य) र प्रा.डा. बिरेन्द्रसिंह गुरुङ (खेलकुद/शिक्षा) लाई पोखरेली नवरत्न सम्मान– २०८२ प्रदान गरिएको हो ।
अग्रज कलाकार दुर्गा बराल “वात्स्यायान” को संयोजकत्वमा पोखरा रत्न छनौट समितिको सिफारिसलाई पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले अनुमोदन गरेको थियो । उनीहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मान प्रदान गर्नुभएको हो । पोखरेली रत्नलाई नगद रु.२ लाख २ हजार २ सय २ रुपैयाँ र ताम्र पत्र, दोसल्लाले सम्मान गरिएको हो ।
स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएका प्रतिभाशाली व्यक्तित्वहरू (रत्न) लाई पोखरेली नवरत्न सम्मानद्वारा सम्मान गर्ने कार्य र परम्परालाई संस्थागत रूपमा निरन्तरता दिने उद्देश्यले करिब २३ वर्ष पछि पुनः सुरु गरिएको नगर प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार पोखरेली नवरत्न सम्मान पोखरा महानगरपालिका कै सर्वोच्च सम्मानको रूपमा विकास गरी अर्पण गर्ने परम्परालाई निरन्तरता दिइनेछ ।
स्रोत :पोखरा महानगरपालिका








