
नवलपुर ,पुष २८ गते
अक्सफोर्ड कलेजमा दोस्रो अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन भव्य रूपमा सम्पन्न
गैंडाकोट । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM) द्वारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन “Innovation for Sustainable Future: Advancing Green Technologies & Multidisciplinary Research Trends” सफलतापूर्वक सम्पन्न भएको छ।
यसअघि भदौ २७-२८ गते आयोजना गर्ने तय गरिएको सम्मेलन देशमा उत्पन्न प्रतिकूल परिस्थितिका कारण स्थगित भई पुनः मिति पौष २५-२६ गते दुई दिनसम्म सञ्चालन गरिएको हो। सम्मेलनमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित शिक्षाविद, अनुसन्धानकर्ता, वैज्ञानिक तथा नीति निर्माण तहका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्मेलनमा दिगो विकास, हरित प्रविधि, नवप्रवर्तन तथा बहुविषयक अनुसन्धानका विषयमा गहन छलफल, कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया सत्रहरू सञ्चालन गरिएका थिए। अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूले हरित प्रविधिको प्रयोग, वातावरणीय संरक्षण, दिगो विकास लक्ष्य तथा आधुनिक अनुसन्धान प्रवृत्तिबारे महत्वपूर्ण विचार तथा सुझाव प्रस्तुत गरेका थिए।
सम्मेलनको पहिलो दिन प्रमुख अतिथिको रूपमा प्रा. डा. प्रेम नारायण अर्याल (पूर्व उपकुलपति, पोखरा विश्वविद्यालय) तथा दोस्रो दिन प्रो. डा. सारदा थपलिया (उपकुलपति, कृषि विश्वविद्यालय रामपुर) को गरिमामय उपस्थिति रहेको थियो। सम्मेलनको सभापतित्व अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सिपल प्रा. डा. हरि भण्डारी ले गर्नुभएको थियो। उहाँले शिक्षण संस्था तथा अनुसन्धानले समाज रूपान्तरणमा खेल्ने महत्वपूर्ण भूमिकाबारे प्रकाश पार्दै अनुसन्धानमुखी कार्यक्रमलाई सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोजकका अनुसार सम्मेलनमा १० भन्दा बढी देशका विज्ञ तथा अनुसन्धानकर्ताहरूले आफ्ना अनुसन्धान कार्यपत्र प्रस्तुत गरेका थिए भने ३४ वटा शैक्षिक संस्थाबाट ६३ समूहको सहभागिता रहेको थियो।
सम्मेलनमा Bachelor तथा Master तहमा अध्यापन गराइरहनु भएका सम्पूर्ण प्राध्यापकहरूको उपस्थितिसहित कार्यक्रम अवधिभर सक्रिय सहभागिता रहेको थियो। कार्यपत्र प्रस्तुति, समूह छलफल तथा अन्तरक्रिया सत्रहरूमा प्राध्यापकहरूको उल्लेखनीय योगदान रहेको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन सञ्चारकर्मीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सञ्चार माध्यममार्फत कार्यक्रमका गतिविधिहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रसारण भई समाजसम्म सूचनाको प्रभावकारी सम्प्रेषण भएको आयोजकले जनाएको छ। अनुसन्धान विभाग प्रमुख प्रो. डा. बसन्त प्रसाद अधिकारी ले सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भन्नुभयो,
“यो सम्मेलनले हाम्रो कलेजमा अनुसन्धान संस्कृतिलाई मजबुत बनाउनुका साथै अन्तर्राष्ट्रिय सहकार्यका लागि नयाँ अवसरहरूको ढोका खोलेको छ। सहभागी सबैलाई हार्दिक धन्यवाद।”
त्यसैगरी भाइस प्रिन्सिपल कृष्णहरि पौडेल ले सम्मेलनले कलेजको शैक्षिक प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुगेको बताउनुभयो। उहाँले आगामी दिनमा अझ ठूलो स्तरका अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने योजना रहेको जानकारी पनि दिनुभयो।
सम्मेलनका मुख्य उद्देश्यहरूमा दिगो विकास तथा हरित प्रविधिमा आधारित अनुसन्धान प्रवर्द्धन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार बहुविषयक अनुसन्धान संस्कृतिको विकासनवप्रवर्तनलाई प्रोत्साहन
रहेका थिए।
दुई दिनसम्म चलेको सम्मेलनले अनुसन्धान, नवप्रवर्तन तथा दिगो विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्। सम्मेलनबाट नयाँ सहकार्य, अनुसन्धान प्रस्ताव तथा भावी योजना तय भएको आयोजकले जनाएको छ।






