
पोखरा ,,चैत्र १ गते
एल.पी. ग्याँस तथा पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तु आपूर्ति व्यवस्थापन सम्बन्धमा समन्वय वैठक सम्पन्न
आज मिति २०८२ फाल्गुन ३० गते कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको अध्यक्षतामा जिल्लास्थित सरोकारवाला (आयल निगम, एल पी ग्याँस विक्रेता, उद्योगी व्यवसायी, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श उपभोक्ता मञ्च नागरिक समाज र सञ्चारकर्मी लगायत) को उपस्थितिमा जिल्लामा एलपी ग्याँस तथा पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्थापनका सम्बन्धमा समन्वय वैठक बसी देहाय बमोजिमको निर्णय गरियो ।
१. कास्की जिल्लामा एल. पी. ग्याँस तथा पेट्रोलियम पदार्थको हालको मौज्दातको विषयमा समीक्षा गरियो । विक्री वितरणलाई व्यवस्थित गरी सरोकारवाला सबैले उचित रुपमा वितरणको कार्य गर्न देहाय बमोजिम गर्ने गराउने निर्णय गरियो :
क. जिल्लामा रहेका ग्याँस उद्योग तथा विक्रेताहरुले आफूलाई प्राप्त परिमाण तथा वितरित परिमाण समेतको दैनिक रुपमा अभिलेख राख्ने र सोको विवरण प्रत्येक दिन जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने ।
ख. कसैले पनि एल. पी. ग्याँसको अनावश्यक सञ्चितीकरण नगर्ने, ग्याँस विक्रेताको प्रमाणपत्र लिएका व्यवसायीहरुले मात्र विक्रि वितरणको कार्य गर्ने ।
ग. ग्याँस उद्योगहरुले सम्बन्धित उद्योगको प्रमाणपत्र पाएका डिलरहरुको विवरण जिल्ला प्रशासन कार्यालयमा शिघ्र उपलब्ध गराउने । अन्य जिल्लामा उद्योग भई यस जिल्लामा ग्याँस वितरण गरेका डिलरहरुको विवरण ग्याँस विक्रेता संघले जिल्ला प्रशासन कार्यालय, कास्कीमा उपलब्ध गराउने ।
घ. ७५ बर्ष उमेर भन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण रुपले अशक्त र अपाङ्गता भएका व्यक्ति एवम् भाडामा बस्ने विद्यार्थीहरुलाई प्राथमिकताका आधारमा न्यूनतम परिमाणमा वितरण गर्न विक्रेताले ध्यान दिने ।
ङ. उद्योगले वितरण गरेको ग्याँस उचित रुपमा विक्रेताबाट विक्री वितरण भए नभएको, अनावश्यक सञ्चिति भए नभएको, मूल्यवृद्धि भए नभएको सम्बन्धमा ग्याँस उद्योग सञ्चालकहरुले अनुगमन गर्ने । उल्लेखित विषयमा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, उपभोक्ता मञ्च तथा सरोकारवाला निकायले सूक्ष्म अनुगमन गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई गराउने ।
च. नेपाल आयल निगमले गरेको निर्णय सबै ग्याँस उद्योगहरुले प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
छ. ग्याँस वितरण, यसको मूल्य तथा तौल सम्बन्धमा कुनै गुनासा र समस्या भए जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन सम्वद्ध सबै उपभोक्ताहरुमा अनुरोध गर्ने ।
ज. पेट्रोल तथा हवाई डिपोहरुले उचित रुपमा पेट्रोलियम पदार्थको विक्री वितरणको व्यवस्था मिलाउने र सोको नेपाल आयल निगमन पोखरा डिपो गगनगौंडाले निरन्तर अनुगमन गर्ने ।
झ. खुल्ला रुपमा वोतल, जर्किन लगायतमा पेट्रोलियम पदार्थको विक्री वितरण गर्ने कार्यलाई पूर्णत: निषेध गरी प्रभावकारी कार्यान्वयन गर्ने ।
ञ. विद्युतीय चुल्हो प्रयोग गरी एल पी ग्याँस माथिको निर्भरता कम गर्न आम उपभोक्तामा अनुरोध गर्ने ।स्रोत :District Administration Office, Kaski








