महिला सिप विकास संस्थाको आयोजनामा रिसाइकल्ड–अपसाइकल्ड झोला निर्माण सम्बन्धी १५ दिने सीपमूलक तालिम सम्पन्न

  • ख-
  • ख
  • ख+

रिसाइकल्ड–अपसाइकल्ड झोला निर्माण सम्बन्धी १५ दिने सीपमूलक तालिम सम्पन्न

पोखरा,श्रावण १ गते

महिला सिप विकास संस्था, पोखरा–८, कास्कीको आयोजनामा सञ्चालित १५ दिने “रिसाइकल्ड–अपसाइकल्ड झोला सामग्री डिजाइन तथा निर्माण” सम्बन्धी सीपमूलक तालिम सम्पन्न भएको छ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि एकीकृत सेवा कार्यालयका प्रमुख श्री राजेन्द्र बहादुर क्षेत्री हुनुहुन्थ्यो भने कार्यक्रमको सभापतित्व महिला सिप विकास संस्थाकी अध्यक्ष श्रीमती देवी गुरुङले गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक श्रीमती रामकली खड्का, उपाध्यक्ष श्री तारा गर्बुजा, अडिटर श्री विष्णु प्रसाद बराल, प्रशिक्षक श्रीमती शान्तिमाया गुरुङ तथा प्रशिक्षक श्री बुद्धिश्री तामाङ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

संस्थाकी कार्यकारी निर्देशक श्रीमती रामकली खड्काले स्वागत मन्तव्यसहित तालिमको उद्देश्य, सञ्चालन प्रक्रिया तथा उपलब्धिबारे संक्षिप्त जानकारी प्रस्तुत गर्नुभएको थियो।। प्रमुख अतिथि श्री राजेन्द्र बहादुर क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता सीपमूलक तालिमले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो।

तालिममार्फत सहभागी महिलाहरूलाई प्रयोग भइसकेका सामग्रीको पुनःप्रयोग (Upcycling) गरी आकर्षक, उपयोगी तथा बजारयोग्य झोला निर्माण गर्ने व्यावसायिक सीप प्रदान गरिएको संस्थाले जनाएको छ। वातावरण संरक्षणसँगै आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिमले सहभागीहरूमा उद्यमशीलता विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

यसै अवसरमा एकीकृत सेवा कार्यालयबाट महिला सिप विकास संस्थालाई ११ वटा जुकी सिलाइ मेसिन हस्तान्तरण गरिएको थियो। उक्त सहयोगले आगामी दिनमा संस्थाले सञ्चालन गर्ने सीपमूलक तालिमहरूलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको समापन अवसरमा प्रशिक्षार्थीहरूले तालिम अवधिभर तयार पारेका विभिन्न प्रकारका रिसाइकल्ड तथा अपसाइकल्ड झोला एवं हस्तकलाका सामग्रीहरूको आकर्षक प्रदर्शनीसमेत गरेका थिए। साथै, प्रशिक्षार्थीहरूको तर्फबाट एक जना तथा प्रशिक्षकको तर्फबाट एक जनाले तालिमका अनुभव, सिकाइ र उपलब्धिबारे आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

समापन समारोहमा प्रमुख अतिथि श्री राजेन्द्र बहादुर क्षेत्रीबाट ३० जना सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो भने संस्थाकी अध्यक्ष श्रीमती देवी गुरुङबाट टीका ग्रहण गराई सफलताको शुभकामना प्रदान गरिएको थियो।

आयोजक संस्थाका अनुसार यस तालिमले महिलाहरूको सीप विकास, स्वरोजगार प्रवर्द्धन, उद्यमशीलता विस्तार तथा वातावरण संरक्षणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ। महिला सिप विकास संस्थाले आगामी दिनमा पनि महिलाहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सशक्त बनाउन यस्ता व्यावसायिक तथा आयमूलक सीप विकास तालिमहरूलाई निरन्तरता दिने जनाएको छ।

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार