पर्वत समाज जापानद्धारा पत्रकार रमेश पौडेल सम्मानित

पोखरा, साउन १२ गते

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेललाई जापानमा रहेका पर्वतबासीहरूको संस्था पर्वत समाज जापानले सम्मान गरेको छ ।

ग्लोबल मिडिया सम्मेलनमा सहभागी हुन जापान पुग्नुभएका अध्यक्ष पौडेलसँगै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव बैकुण्ठ पराजुली, केन्द्रीय सदस्य छविलाल तिवारी तथा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललाई पनि सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभास लामिछानेले प्रवासी नेपालीलेआर्जन गरेका सीप, ज्ञान र अनुभवलाई नेपालको विकाससँग जोड्न सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

त्यसैगरी, पर्वत समाज जापानका अध्यक्ष राम बास्तोलाले प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउन समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

सम्मान ग्रहणपछि अध्यक्ष पौडेलले प्रवासमा रहेका नेपाली संस्थाहरूको सक्रियताको प्रशंसा गर्दै जापानको प्रणाली, अनुशासन र प्रविधिबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनुभयो ।

उहाँले नेपालको उद्योग तथा आर्थिक विकासमा गैरआवासीय नेपाली संघ (एनआरएनए)मार्फत लगानी भित्र्याउन थप पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालपत्रकार महासंघका केन्द्रीय सचिव पराजुली, केन्द्रीय सदस्य तिवारी, कास्की अध्यक्ष बराल, वरिष्ठ कलाकार ईश्वर गुरुङ, पर्वत समाज जापानका वरिष्ठ उपाध्यक्ष मुक्तिराज रेग्मी, महासचिव जीवन न्यौपाने लगायतले समाजका गतिविधि, प्रवासी नेपालीको भूमिका तथा नेपाल–जापान सम्बन्धका विविध पक्षबारे धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0