
पोखरा,श्रावण १३ गते
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपति, उपकुलपति, सदस्य सचिव, परिषद् सदस्य र सभा सदस्य चयन गरिएको छ । नगर प्रमुख धनराज आचार्यले प्रतिष्ठानका नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ (भाषा तथा साहित्य), उपकुलपति तिलक पुर्जा पुन मगर (कला तथा साहित्य) र सदस्य–सचिव जीवन दाहाल (लोकगीत तथा सङ्गीत) लाई जिम्मेवारी सहित नियुक्ति प्रदान गर्नुभएको हो ।
प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्यमा श्रीजङ्ग गुरुङ (नृत्य), हरेराम जोजेजु (फाइन आर्ट ललितकला), दिलीप गायक (सङ्गीत तथा वाद्यवादन) र प्रमीला ताम्राकार तुलाचन (रङ्गमञ्च तथा अभिनय) रहनुभएको छ । यस्तै प्रज्ञा सभा सदस्यमा कल्पना चिलवाल (साहित्य), कृष्णप्रसाद गौतम (संस्कृति), गमबहादुर परियार (नृत्य निर्देशन तथा कलाकार), ज्योति गुरुङ (फाइन आर्टल ललितकला), नवराज अधिकारी (लेखनाथ साहित्य प्रतिष्ठान), प्रेमराज अधिकारी (लोकगीत तथा सङ्गीत, गीतकार), भास्करध्वज श्रेष्ठ (सङ्गीत तथा ब्याण्ड), रवीन्द्र माकाजु (साहित्य तथा इतिहास), रिता पाहारी (साहित्य तथा कला), शिवहरि ढुङ्गाना (लोक तथा दोहोरी गीत–सङ्गीत) रहनु भएको छ ।
सो अवसरमा नगर प्रमुख आचार्यले प्रतिष्ठानका गतिविधिहरू मार्फत पोखरा महानगरपालिका क्षेत्रको साहित्य, कला, संस्कृति, भाषा लगायत समग्र प्राज्ञिक क्षेत्रको उन्नयन र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका गतिविधिहरूलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले संस्थागत रूपमा पोखरा घरमा व्यवस्थित कार्यालय र कार्य सञ्चालनका लागि कानुनी रूपमा पर्याप्त व्यवस्था र बजेटको समेत प्रबन्ध गरिएको उहाँले बताउनुभयो ।
उपप्रमुख मन्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले नगर क्षेत्रको साहित्य, कला, भाषा, सृजना र संस्कृतिको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । महानगरपालिकाले यसका गतिविधिहरूलाई चलायमान बनाउनका लागि आवश्यक सहयोग तथा सहजीकरण गर्ने उहाँले बताउनुभयो ।
नवनियुक्त कुलपति प्रतीक्षाले आफूहरूलाई प्रदान गरिएको जिम्मेवारी निष्ठापूर्वक बहन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । पोखरेली प्राज्ञिक क्षेत्रको विकास र श्रीवृद्धिमा आफूहरू समर्पित भएर लाग्ने उल्लेख गर्दै उहाँले पोखरा प्रज्ञा प्रतिष्ठानलाई नमुना प्रतिष्ठानका रूपमा स्थापित गर्ने विश्वास दिलाउनुभयो ।
पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (दोस्रो संशोधन, २०८२) अनुसार कुलपति लगायतका पदाधिकारीहरू नियुक्त तथा मनोनयन गरेको हो ।स्रोत :पोखरा महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

