
पोखरा साउन १७ गते
धनकुटा उद्योग वाणिज्य सङ्घको ४६ औँ वार्षिक साधारण सभा एवं अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउत ले एक समारोह बीच उद्घाटन गर्नुभयो। उक्त अवसरमा उहाँले भन्नुभयो ऐतिहासिक तथा रमणीय पहाडी जिल्ला धनकुटामा आयोजित धनकुटा उद्योग वाणिज्य संघको यस गरिमामय साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन पाएकोमा धनकुटा उद्योग वाणिज्य संघ परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यस साधारण सभा तथा अधिवेशनको पूर्ण सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्न पाउँदा म अत्यन्त हर्षित छु।
धनकुटा केवल प्रशासनिक र साङ्केतिक पहाडी बजार मात्र होइन, यो कोशी प्रदेशको एक ऐतिहासिक, सांस्कृतिक र रणनीतिक व्यापारिक केन्द्र पनि हो। धरान-धनकुटा राजमार्ग र तमोर करिडोरको सञ्चालनले यस क्षेत्रलाई तराई र हिमालसँग जोड्ने प्रमुख रणनीतिक कडी (लिंक) का रूपमा उभ्याएको छ।
दुईतिहाइ बहुमतको सरकार गठनपछि निजी क्षेत्र निकै उत्साहित भएको थियो। आर्थिक विकासले गति लिने विश्वास गरिएकोमा अहिलेका गतिविधिबाट व्यवसायीहरू केही हदसम्म निरुत्साहित हुन थालेका छन्। यद्यपि, सम्माननीय प्रधानमन्त्री र माननीय अर्थमन्त्रीज्यूसँगको पछिल्ला भेटघाटले निजी क्षेत्रमा पुनः आशाका किरणहरू पलाएका छन्।
विश्व अर्थतन्त्रमा आएको मन्दी र महँगी लगायतका कारणहरूको असर नेपालमा पनि परिरहेको छ, जसले गर्दा सर्वसाधारण जनतामा समेत नैराश्यता छाएको छ।
हाल लगानीको अनुकूल वातावरण बन्न सकिरहेको छैन भने बैंकमा पर्याप्त पुँजी थुप्रिएर बसेको छ।
आज हामी नेपालको अर्थतन्त्रमा देखिएका विभिन्न चुनौतीहरू—जस्तै साना तथा मझौला व्यवसायीहरूले भोगिरहेका समस्या, बजारमा देखिएको सुस्तता र युवा पलायनको चपेटाबाट गुज्रिरहेका छौं। यी सम्पूर्ण समस्याको समाधान स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु र उत्पादन वृद्धि गर्नुबाहेक अन्य विकल्प छैन। यस सन्दर्भमा, धनकुटामा कृषि, पर्यटन र जडीबुटी प्रशोधन उद्योगको सम्भावना असीमित छ।
धनकुटा सुन्तला, एभोकाडो, चिया, कफी र अदुवा उत्पादनका लागि कोशी प्रदेशकै ‘हब’ बन्न सक्ने पूर्ण सम्भावना बोकेको जिल्ला हो। कृषि उत्पादनलाई व्यावसायिकरण गर्दै आधुनिक प्रविधि र बजारीकरणसँग जोड्नु आजको मुख्य आवश्यकता हो।
धनकुटा बजार, हिले, पाख्रिबास, राजारानी र भेडेटार क्षेत्रलाई समेट्दै यहाँ ‘होमस्टे’ (घरबास पर्यटन) र पदमार्ग (Hiking) को विकास गर्न सके कोशी प्रदेशको मात्र होइन, राष्ट्रिय पर्यटन अर्थतन्त्रमै ठूलो योगदान पुग्न सक्छ।
स्थानीय उत्पादनहरूको प्रशोधन (Value Addition) र ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन हामीले सहकार्य गर्नुपर्ने बेला आएको छ।
उद्योग तथा व्यापारका लागि कोशी प्रदेश अत्यन्तै सम्भावनायुक्त प्रदेश हो। यस प्रदेशमा भारत, चीन, बंगलादेश र भुटानको मुख्य प्रवेशद्वार रहेको हुँदा यसलाई ट्रान्जिट हबका रूपमा विकास गर्नेतर्फ हामी अगाडि बढ्नुपर्दछ।
कोशी प्रदेशमा उत्पादित कृषिजन्य वस्तुहरू—चिया, अलैंची, अदुवा, बेसार लगायतका स्थानीय उत्पादनहरू निर्यात हुँदै आएकाले निर्यात प्रवर्द्धनका लागि विशेष ‘एक्सपोर्ट हाउस’ को आवश्यकता रहेको छ।
जोगवनी नाकामा निजी क्षेत्रले रेल कार्गोमार्फत सामान आयात-निर्यात गर्ने सुविधा माग गर्दै आएकोमा अब यो सेवा सुरु भइसकेको खुसीको कुरा जानकारी गराउन चाहन्छु। रेलमार्फत भन्सार परिसरसम्मै सामान आउनु निजी क्षेत्रका लागि दीर्घकालीन रूपमा अत्यन्तै फाइदाजनक छ र यसले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी ब बनाउन मद्दत पुग्नेमा निजी क्षेत्र विश्वस्त छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, प्रदेशको आर्थिक विकासका लागि प्रदेश सरकारसँग सहकार्य गर्दै निरन्तर अगाडि बढिरहेको छ।
प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन र कोशी प्रदेश पर्यटन वर्ष जस्ता कार्यक्रमहरूमा महासंघले उल्लेखनीय भूमिका निर्वाह गरेको थियो।
यसैगरी, महासंघले पहाडी जिल्लाका उत्पादनहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले ढाका महोत्सव र कृषि महोत्सव जस्ता कार्यक्रमहरू आयोजना गरी बजार पहिचानको काम गर्दै आएको यहाँहरूलाई अवगत गराउन चाहन्छु।
महासंघले प्रदेशका आबद्ध उद्योग वाणिज्य संघहरूका लागि उद्यमशीलतासम्बन्धी विभिन्न तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
भारतमा हुने विभिन्न सम्मेलन तथा मेला-महोत्सवहरूमा महासंघले आफ्ना सदस्यहरूलाई सक्रिय सहभागिता गराउँदै आएको छ।
महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी भदौ २७ र २८ गते प्रदेशस्तरीय महिला उद्यमशीलतासम्बन्धी सम्मेलन आयोजना गर्ने कार्यक्रम तय भएको छ।
आगामी दिनमा पनि जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको सुदृढीकरणका लागि महासंघले विभिन्न प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, धनकुटाका उद्योगी र व्यवसायीहरूको हकहित, अधिकार र व्यावसायिक सुरक्षाको लागि सधैं यहाँहरूसँगै उभिन प्रतिबद्ध छ। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्दै व्यवसायीमैत्री नीति निर्माणका लागि हामी निरन्तर पैरवी गरिरहेका छौं।
अन्त्यमा, धनकुटा उद्योग वाणिज्य संघको यस साधारण सभाले आगामी दिनमा अझ बढी सबल, सक्षम र व्यवसायीहरूको हकहितमा प्रभावकारी ढङ्गले काम गर्न सक्ने नयाँ नेतृत्व चयन गर्न सफल होस् भन्दै यस सभाको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै, वर्तमान अध्यक्ष विजयसन्तोषी राई तथा उहाँको सिंगो टिमले आफ्नो कार्यकाल कुशलतापूर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई दिन चाहन्छु अध्यक्ष श्री राजेन्द्र भन्नुभयो ।
धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री विजय सन्तोषी राईको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ का केन्द्रीय सदस्य, प्रदेशका सदस्यहरू, जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरू लगायत उद्योगी व्यवसायहरूको सहभागिता रहेको थियो।स्रोत:FNCCI Koshi Province
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

