
पोखरा ,श्रावण २२ गते
श्रम तथा रोजगार कार्यालय पोखराको आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म (११ महिना सम्म मा ) १२० जना श्रमिकसँग सम्बन्धित ७५ वटा श्रम विवादका निवेदन दर्ता भएका थिए । तीमध्ये वार्ता तथा सहमतिबाट ५१ वटा र निर्णयमार्फत ३ वटा गरी कुल ५४ वटा विवाद फर्छ्योट भएको कार्यालयले जनाएको छ।
बाँकी २१ वटा विवाद अझै प्रक्रियामै रहेका छन्। कार्यालयका अनुसार विवाद समाधानका क्रममा ३० जना श्रमिकलाई कुल रु. १० लाख ७७ हजार ८ सय पारिश्रमिक तथा क्षतिपूर्ति उपलब्ध गराइएको छ। यसअन्तर्गत दुर्घटनाको क्षतिपूर्ति स्वरूप २ जना श्रमिकलाई रु. १ लाख ५० हजार, मनोरञ्जन क्षेत्रमा कार्यरत ५ जना श्रमिकलाई रु. १ लाख ३२ हजार ४८०, अनौपचारिक क्षेत्रमा कार्यरत ४ जनालाई रु. २ लाख ५३ हजार ३००, शैक्षिक क्षेत्रमा कार्यरत ४ जनालाई रु. १ लाख २१ हजार तथा होटल–रेष्टुरेन्ट क्षेत्रमा कार्यरत ८ जना श्रमिकलाई रु. ९६ हजार २०० पारिश्रमिक दिलाइएको छ।
त्यसैगरी, एक जना श्रमिकको भुक्तानीका क्रममा बढी कर कटौती भएको रु. २ लाख ७ हजार फिर्ता गराइएको छ भने श्रमिक आपूर्तिकर्तामार्फत कार्यरत ५ सुरक्षा गार्ड र १ सरसफाइ कर्मचारीलाई रु. ७८ हजार पारिश्रमिक उपलब्ध गराइएको कार्यालयले जनाएको छ। यस्तै, एक प्रतिष्ठानमा देखिएको सामूहिक श्रम विवाद समाधान गरी श्रमिकहरूको रोकिएको तलब तथा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। बालश्रम नियन्त्रण तर्फ जेठ मसान्तसम्म दर्ता भएका ९ वटा बालश्रम मुद्दा सबै निर्णयमार्फत फर्छ्योट गरिएको कार्यालयले जनाएको छ।
बालश्रम निषेध तथा नियमित गर्ने कानुनी व्यवस्थाअनुसार ११ जना बालबालिकालाई बालश्रमबाट उद्धार गर्ने क्रममा रु. १ लाख १४ हजार २०० पारिश्रमिक दिलाइएको तथा रु. १ लाख १० हजार जरिवाना असुल गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ। त्यसैगरी, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ वटा नयाँ ट्रेड युनियन दर्ता भएको र १० वटा नवीकरण गरिएको छ। श्रमिक आपूर्तिकर्ता इजाजतपत्रतर्फ १ वटा नयाँ इजाजतपत्र जारी गरिएको, ११ वटा नवीकरण भएको, तीमध्ये १ वटा नवीकरण प्रक्रियामा रहेको र हालसम्म कुनै पनि इजाजतपत्र खारेज नभएको कार्यालयले जनाएको छ।
कार्यालयले श्रम सचेतना तथा क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रमसमेत सञ्चालन गरेको थियो जस अन्तर्गत श्रमिक शिक्षासम्बन्धी ३ वटा, श्रम अडिटको कानुनी प्रावधान, आवश्यकता र महत्वसम्बन्धी ३ वटा, श्रमिक आपूर्तिकर्तासम्बन्धी विद्यमान कानुनबारे १ वटा, व्यावसायिक सुरक्षा तथा स्वास्थ्य (ओएसएच) सम्बन्धी २ वटा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसैगरी, मे दिवसको अवसरमा पत्रकार सम्मेलन, दुई औद्योगिक प्रतिष्ठानमा श्रमिक शिक्षा अभिमुखीकरण तथा सामूहिक विवाद समाधान विधि र प्रक्रियासम्बन्धी १ वटा अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरिएको श्रम तथा रोजगार कार्यालय पोखराले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

