दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानबारे मन्त्री बादी र मधेसी आयोगबीच छलफल
काठमाडौं, साउन २६ गते
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच आज मन्त्रालयमा छलफल भएको छ।
छलफलमा दाइजो प्रथाविरुद्धको अभियानलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा पुर्याउने, कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने तथा सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउने विषयमा विचारविमर्श भएको थियो।
मन्त्री बादीले ‘दाइजोमुक्त नेपाल’ निर्माण सरकारको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा राष्ट्रिय अभियान बनाउनुपर्ने बताउनुभयो। परिवार र समुदायबाटै दाइजोविरुद्धको चेतना विस्तार गर्दै युवा, महिला, स्थानीय तह, शैक्षिक संस्था, सामाजिक तथा धार्मिक अगुवा, नागरिक समाज र सञ्चारमाध्यमलगायत सबै पक्षलाई अभियानमा जोड्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले यसअघि प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीसँग समेत दाइजो प्रथा अन्त्य तथा ‘दाइजोमुक्त नेपाल’ अभियानका विषयमा छलफल भएको जानकारी गराउँदै आगामी दिनमा अन्य सरोकारवालासँग पनि परामर्श गरी प्राप्त सुझावका आधारमा अभियानलाई अघि बढाइने बताउनुभयो।
भेटवार्ताका क्रममा मधेसी आयोगले मधेशमा महिला तथा बालबालिकाले सामना गरिरहेका बालविवाह, घरेलु तथा लैङ्गिक हिंसा, शिक्षा तथा स्वास्थ्यमा पहुँचको कमी, बोक्सीको आरोपमा हुने हिंसा, बालश्रम तथा बालशोषण, मानव बेचबिखन तथा ओसारपसार, नागरिकता तथा पहिचानसम्बन्धी समस्या लगायतका विषयमा समेत आफ्ना राय तथा सुझाव प्रस्तुत गरेको थियो।
दाइजो प्रथा अन्त्यका लागि ‘दाइजो नलिने, नदिने’ संस्कारको विकास, निरन्तर जनचेतना विस्तार, युवाको नेतृत्व र सहभागिता वृद्धि तथा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्यमा जोड दिइएको थियो।
मन्त्रालयले सरोकारवालासँग थप छलफल तथा परामर्श गर्दै प्राप्त सुझावलाई समेटेर ‘दाइजोमुक्त नेपाल’ अभियान मधेशबाट सुरु गरी क्रमशः देशव्यापी रूपमा अघि बढाउने जनाएको छ।स्रोत: सिता बादी सचिवालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0