पोखरा ,श्रावण ३० गते
११औँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ सुरु
गैरआवासीय नेपाली संघ (NRNA) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आज चीनको ग्वाझाओमा औपचारिक रूपमा सुरु भएको छ। “Aarohan 2026 – Rising Together, Leading Forward” अर्थात् “हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ” भन्ने मूल ध्येयका साथ सम्मेलन आयोजना गरिएको हो।
ग्वाझाओस्थित क्राउन प्लाजा ग्वाझाओ सिटी सेन्टर होटलमा सुरु भएको सम्मेलनको उद्घाटन समारोह एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कंडेलको अध्यक्षतामा भइरहेको छ। कार्यक्रममा प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीमप्रसाद आङ्देम्बेको प्रमुख आतिथ्यता रहेको छ। विभिन्न राजनीतिक दलका सचेतक तथा सांसद, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, चीनस्थित नेपाली कूटनीतिक नियोगका प्रमुख, एनआरएनएका संस्थापक तथा अग्रज नेतृत्वलगायतको उपस्थिति रहेको छ।सम्मेलनलाई माननीय परराष्ट्रमन्त्री शिशिर खनालले भर्चुअल माध्यममार्फत सम्बोधन गर्नुभएको थियो।
सम्मेलनमा नेपाल र एसिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीचको सम्बन्ध थप सुदृढ गर्ने, नेपालको आर्थिक विकासमा डायस्पोराको पूँजी, ज्ञान, सीप र अनुभव परिचालन गर्ने तथा एनआरएनएको संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल हुनेछन्।
सम्मेलनअन्तर्गत व्यापार, लगानी तथा लजिस्टिक क्षेत्रका अवसर, एसिया प्यासिफिक क्षेत्रका राष्ट्रिय समन्वय परिषद् (NCC) को सुदृढीकरण, सुरक्षित वैदेशिक रोजगार तथा पुनःएकीकरण, नेपाली नागरिकताको निरन्तरता र गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अधिकार, पर्यटन प्रवर्द्धन, महिला तथा युवा नेतृत्व र एनआरएनएको ब्रान्डिङलगायत विषयमा विभिन्न सत्र सञ्चालन हुनेछन्।
विशेषगरी गैरआवासीय नेपाली नागरिकता तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रभावकारी कार्यान्वयन, वैदेशिक रोजगारीमा रहेका नेपालीको अधिकार संरक्षण, सीमापार मानव बेचबिखन नियन्त्रण तथा नेपालको लगानी र पर्यटन प्रवर्द्धनमा डायस्पोराको भूमिका सम्मेलनका महत्वपूर्ण विषयका रूपमा रहेका छन्।
महिला तथा युवा सत्रमा महिला उद्यमशीलता, नेतृत्व विकास तथा दोस्रो पुस्ताका नेपालीको पहिचान, सहभागिता र विश्वव्यापी सञ्जाल विस्तारका विषयमा छलफल हुनेछ। त्यसैगरी, एनआरएनएको संस्थागत पहिचान र ब्रान्डिङलाई थप सुदृढ गर्दै संघलाई नयाँ पुस्तासँग जोड्ने विषयमा पनि विशेष छलफल गरिनेछ।
सम्मेलनका विभिन्न प्लेनरी तथा विषयगत सत्रहरू सम्पन्न भएपछि १६ अगस्टमा ‘ग्वाझाओ घोषणापत्र २०२६’ जारी गरिनेछ। घोषणापत्रमार्फत सम्मेलनमा उठेका प्रमुख विषय, नीति तथा प्राथमिकताहरूलाई समेट्दै नेपाल सरकार तथा सम्बन्धित सरोकारवालासमक्ष आवश्यक सुझाव तथा मागहरू प्रस्तुत गरिनेछ।
सम्मेलनको अन्तिम दिन १७ अगस्टमा सहभागी प्रतिनिधिहरूका लागि चीनको गुआङ्डोङस्थित प्रसिद्ध गुलोङक्सिया प्राकृतिक क्षेत्रमा आधिकारिक अवलोकन भ्रमणको कार्यक्रमसमेत तय गरिएको छ।
११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ ले एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपाली समुदायबीचको एकता र सहकार्यलाई थप मजबुत बनाउँदै नेपालको आर्थिक समृद्धि, लगानी, पर्यटन, ज्ञान तथा सीप हस्तान्तरण र सुरक्षित वैदेशिक रोजगारीका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।स्रोत :NRNA
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0