पोखरा ,भदौ २८ गते

एनआरएनएको राहत अभियान १७ औँ दिनमा

भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू आज १७ औँ दिनमा पनि निरन्तर जारी रह्यो।
बाढी प्रभावित रसुवाको ठूलो स्याफ्रुमा राहत वितरण
विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवाका विस्थापित परिवारलाई एनआरएनएले राहत सामग्री वितरण गरेको छ । स्याफ्रुबेँसीबाट विस्थापित भई गोसाइँकुण्ड गाउँपालिका–५, ठूलो स्याफ्रुमा आश्रय लिएर बस्दै आएका १५० परिवारलाई एनआरएनएको तर्फबाट खाद्यान्न (चामल, दाल, नुन, खोर्सानी, तेल) सोलार लाइट, तथा स्वास्थ्य सामग्री वितरण (HAPSA Nepal बाट प्राप्त)गरिएको हो । बाढीका कारण आफ्नो थातथलोबाट विस्थापित ती परिवारलाई वडा अध्यक्षको समन्वयमा आवश्यकता पहिचान माग अनुसारकै राहत सामग्री उपलब्ध गराइएको हो । राहत वितरणमा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), महासचिव डा. चिरञ्जीवी खड्का, सहकोषाध्यक्ष अब्दुल बासिद तथा दोस्रो पुस्ता संयोजक एवं मिस नेपाल २०२६ दिपमाला ढकाल, स्वयंसेवक तथा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
नुवाकोटका बाढी प्रभावितलाई स्वास्थ्य तथा मनोसामाजिक सहयोग
नुवाकोटको विदुर नगरपालिका–२ स्थित सामुदायिक केन्द्रमा आश्रय लिइरहेका बाढी प्रभावित ५० भन्दा बढीको एनआरएनएको समन्वयमा स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, उपचार, निःशुल्क औषधि तथा मनोसामाजिक परामर्श प्रदान गरिएको छ। आश्रयस्थलका परिवारलाई पानी शुद्धीकरण ड्रप्स, स्यानिटाइजर, स्यानिटरी प्याड, साबुन, टूथब्रस र टूथपेस्टलगायत सरसफाइ सामग्री तथा बालबालिकाका लागि क्यारम, ब्याडमिन्टन, बल र ब्याटलगायत खेलकुद सामग्री वितरण गरिएको छ । एनआरएनएका आईसीसी सदस्य डा. सञ्जीव सापकोटाको नेतृत्वमा सञ्चालित शिविरमा वरिष्ठ बालरोग विशेषज्ञ प्रा. डा. शिव श्रेष्ठ तथा मनोसामाजिक परामर्शदाता रानु सापकोटा, प्रसिद्धि खतिवडा र अलिजा लगायत थिए । शिविर एनआरएनए, PHOMIR, HAPSA, अन्तरमन तथा Helping Hands Without Borders–Canada को सहकार्यमा सञ्चालन गरिएको हो।
स्याफ्रुबेँसीका बाढी प्रभावितलाई भेट्दै
रसुवामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को राहत टोलीले बाढी प्रभावित स्याफ्रुबेँसी क्षेत्रका परिवारलाई भेटेर उनीहरूको वर्तमान अवस्था र आवश्यकताबारे जानकारी लिने तयारी गरिएको छ। टोलीले भोलि स्थानीय जनप्रतिनिधि तथा प्रभावित परिवारसँग छलफल गरी तत्कालीन तथा दीर्घकालीन आवश्यकताबारे जानकारी लिनेछ। बाढीका कारण स्याफ्रुबेँसीसहित रसुवाका विभिन्न क्षेत्रमा घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुग्नुका साथै स्थानीय बासिन्दा विस्थापित भएका छन्। एनआरएनएको राहत टोलीले प्रभावित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक सहयोगका क्षेत्र पहिचान गर्न लागेको हो। यस क्रममा स्थानीय जनप्रतिनिधि, प्रभावित परिवार तथा सम्बन्धित सरोकारवालासँग प्रत्यक्ष छलफल गरी वास्तविक आवश्यकता संकलन गरिनेछ। राहत वितरणमा मात्र सीमित नभई प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्निर्माणमा समेत सरकारसँग सहकार्य गरी सहयोग पुर्याउने एनआरएनएको उद्देश्य रहेको छ। स्रोत :गैरआवासीय नेपाली संघ सचिवालय

बालुवाटार, काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0