
प्रथम पिङ्क सिटि महोत्सव वालिङ – २०८१ को तयारी अन्तिम चरणामा पुगेको छ । वालिङ् चेम्बर अफ कमर्सले यही फागुन २१ देखि चैत ३ गतेसम्म गर्ने महोत्सवमा महोत्सव स्थलको बार तथा स्टल निर्माण अन्तिम चरणमा पुगेको छ भने मञ्च निर्माण र बालउद्यान निर्माण समेत अन्तिम चरणमा पुर्याएकाे छ ।
‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ्’ भन्ने नाराका साथ वालिङ् खेलमैदानमा महोत्सवको आयोजना गरिएको हो । कमर्सका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक प्रकाश न्यौपाने (किरण) ले वालिङ्को सभ्यता र यसको ऐतिहासिक महत्वको बारेमा जानकारी दिने र प्रचार प्रसार गर्ने, स्थानीय तथा स्वदेशी कृषि, खेलकुद, संस्कृति, पर्यटन, औद्योगिक उत्पादनको प्रवर्द्धन एवं संस्कृतिको जगेर्ना गर्ने उदेश्यले महोत्सव गरिएको बताउनुभयो ।
महोत्सव प्रवेशका लागि टिकट रु. १०० रहेको छ । विद्यार्थी परिचयपत्रको आधारमा विद्यार्थीलाई रु. ७० को टिकट र ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा ज्येष्ठ नागरिकलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस्तै, परिचयपत्रका आधारमा एकल महिला र अपांगता भएकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

