
पोखरा ,भदौ १२ गते
ऋषि पञ्चमी हिन्दू धर्मको एक महत्वपूर्ण व्रत हो जुन भाद्र शुक्ल पञ्चमी (हरितालिका तीजको पर्सि पल्ट ) या आजको दिन मनाइन्छ। विशेषगरी महिलाहरूले यो व्रत बस्ने परम्परा छ। यसको मुख्य उद्देश्य शरीर, मन र आत्माको शुद्धि गर्ने तथा सप्तऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ आदि ) लाई पूजा गर्ने गरिन्छ।
हिन्दू शास्त्रअनुसार ऋतु धर्म (महिनावारी) अवधिमा अज्ञानवश वा अनजानेमा भएका अशुद्धिहरूको प्रायश्चित महिलाको शुद्धिकरणका लागि यो व्रत बस्ने परम्परा छ। ऋषिहरूप्रति श्रद्धा प्रकट गर्न सप्तऋषिहरूलाई स्मरण गरेर पूजा गर्ने दिन हो। ऋषिहरूलाई संसारका ज्ञानदाता, धर्म प्रणेता र सदाचारका मार्गदर्शक मानिन्छ।एक पटक एक ब्राह्मण दम्पतीकी छोरी महिनावारी अवधिमा धर्मशास्त्र अनुसारका नियम नपालेको कारण मृत्यु पश्चात् अशुद्ध आत्मा बनी दुःख भोग्न पुग्छिन्। पछि ऋषि पञ्चमीको व्रत गर्दा उनले मुक्ति पाएको कथा छ। त्यसैले पौराणिक कथा अनुसार: यो व्रत महिलाले गर्नुपर्ने मानिन्छ।यो दिन स्नान, शुद्ध आचरण, उपवास र पूजा गर्नाले शरीर शुद्ध भयको मानिन्छ । जसले गर्दा मन पवित्र हुने र आरोग्य लाभ र दीर्घायुको हुने विश्वास मानिन्छ । आजको दिन महिला दिदीबहिनीहरु बिहानै नदी, ताल वा कुण्डमा गएर स्नान गर्ने गर्छन। सप्तऋषि र गणेशको पूजा गर्ने गर्छन। दिनभर उपवास बसी बेलुकी पूजा गरी प्रसाद ग्रहण गर्ने गर्छन। त्येसैले ऋषि पञ्चमी व्रतलाई आत्मशुद्धि, पितृऋणबाट मुक्ति र धर्मपालनको प्रतीकका रूपमा पनि मनाइन्छ।

