
पोखरा,असार ३० गते
पोखरामा आगामी सेप्टेम्बर २५ देखि २७ सम्म ‘नोम्याड्स बेसक्याम्प फेस्टिभल’ आयोजना हुने भएको छ। साराङ सर्भिसेज र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा हुने महोत्सवका लागि दुवै संस्थाबीच आइतबार औपचारिक सम्झौता भएको छ।
महोत्सवमार्फत पोखरालाई डिजिटल नोम्याड्स, रिमोट वर्कर, उद्यमी, सिर्जनशील व्यक्तित्व तथा नवप्रवर्तनकर्ताको आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो। उहाँका अनुसार सन् २०२५ को अगस्टमा पहिलो डिजिटल नोम्याड्स फेस्टिभल आयोजना गरिएको थियो।
आयोजकका अनुसार तीनदिने महोत्सवमा प्रविधि, जीवनशैली र पर्यटनसँग सम्बन्धित विविध विषयमा छलफल तथा अन्तरक्रिया गरिनेछ। पहिलो दिन कृत्रिम बुद्धिमत्ता (एआई), स्टार्टअप, उद्यमशीलता, डिजिटल व्यवसाय तथा भविष्यको कार्यशैलीका विषयमा केन्द्रित सत्र सञ्चालन गरिनेछ।
दोस्रो दिन स्वतन्त्र जीवनशैली, रिमोट कार्य, मानसिक स्वास्थ्य तथा जीवन–सन्तुलनका विषयमा छलफल हुनेछ। तेस्रो तथा अन्तिम दिन विश्व पर्यटन दिवसको अवसर पारेर दिगो पर्यटन, पर्यटकीय नवप्रवर्तन, गन्तव्य ब्रान्डिङ तथा सांस्कृतिक आदानप्रदानका विषयमा छलफल गरिने आयोजकले जनाएको छ।
पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले महोत्सवले पर्यटन व्यवसायी, उद्यमी तथा विद्यार्थीलाई विश्वभरका डिजिटल नोम्याड्स र उद्यमीसँग अनुभव आदानप्रदान, सहकार्य तथा सञ्जाल विस्तार गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।स्रोत:maidannews.com

