
काठमाडौँ,श्रावण ७ गते
महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान
‘हाम्रो क्षमताबाट सहायता उपलब्ध गरायौँ, यो सहायता अस्पतालको क्षमतासँग सम्बन्धित जिम्मेवारी हस्तान्तरण पनि हो’ – कार्यवाहक प्रमुख, डंगोल
काठमाडौँ महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपियाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध गराएको छ । महानगरबासी र विपन्न तथा वेवारिसे विरामीलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई सामान हस्तान्तरण गर्नुभएको हो ।
एउटा इम्प्लान्ट किन्न प्रकृति अनुसार २ सय रुपियाँदेखि १० लाख रुपियाँ सम्म पर्छ । एक जना व्यक्तिलाई कति वटा इम्प्लान्ट चाहिन्छ भन्ने कुरा चाहिँ चोटपटकको अवस्थाले निर्धारण गर्छ । सेन्टरमा गराइएका उपचार हेर्दा औसतमा २ लाख रुपियाँदेखि २ लाख ५० हजार रुपियाँसम्म खर्च आउने गरेको छ ।
दुर्घटना वा अन्य स्वास्थ्य समस्याका कारण हड्डीमा राख्नुपर्ने महँगो ‘इम्प्लान्ट’ सामग्री अभावका कारण विरामीहरु उपचारबाट वञ्चित हुनु पर्ने अवस्था अन्त्य गर्न महानगरपालिकाको स्वास्थ्य विभागले सार्वजनिक खरिद प्रक्रियाबाट सामान खरिद गरेपछि प्राप्त भएका सामान सेन्टरलाई हस्तान्तरण गरिएको हो । उपलब्ध गराइएका सामानहरु ११५ प्रकारका छन् । यी सामानबाट करिब ३ सय जनाले निःशुल्क उपचार प्राप्त गर्न सक्ने अनुमान गरिएको छ । स्रोत :काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

