
पोखरा ,भदौ २५ गते
नेपाल सरकारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा आगामी २०८३ मंसिर १ गतेदेखि पशु बधशाला र मासु जाँच ऐन, २०५५ लागू गर्ने भएको छ।
सरकारले २०८३ भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै उपत्यकाका सबै स्थानीय तहमा उक्त ऐन लागू हुने जानकारी दिएको हो।
ऐनको दफा ५ अनुसार पशु बधशाला स्थापना वा मासु बिक्री गर्न चाहने व्यक्ति तथा संस्थाले तोकिएको प्रक्रिया पूरा गरी इजाजत लिनुपर्नेछ। त्यसका लागि पशु बधशाला र मासु जाँच नियमावली, २०५७ को नियम ५ र ८ बमोजिम तोकिएको मासु पसलको मापदण्ड पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ।
सम्बन्धित व्यक्ति तथा संस्थाले २०८३ मंसिर १ गतेभित्र आवश्यक मापदण्ड पूरा गरी इजाजत लिन सरकारले आग्रह गरेको छ।
इजाजत नलिई मासु पसल सञ्चालन गरेमा वा मासु बिक्री–वितरण गरेमा ऐनको दफा १७ को उपदफा (२) बमोजिम १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना, तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको सरकारले जनाएको छ।

