आइडिया मार्टमा सहभागी मध्ये १० समुह अन्तिम चरणमा प्रवेश
पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रद्धारा आयोजित पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्पमा सहभागी मध्ये अन्तिम प्रतिस्पर्धाका लागि १० वटा समुह छनौट भएका छन । छनौट भएका समुहमा डिभाइन डिस, इभालय टेक, ग्रीनोभेसन, नीटी, आवर सिटी इज जिरो वेस्ट, रेन्टल, टीम स्वीफ्ट वे, थिन क्लाइन्ट, ट्रेक गाइड कनेक्ट र ट्रफअपसाइकल रहेका छन ।
ब्यवसाय प्रवद्र्धन केन्द्रले जेठ ६ देखि ८ गते सम्म आयोजना गरेको पोखरा आइडिया मार्ट तथा बुट क्याम्पमा सहभागी १७ समुह मध्ये १० वटा समुह अन्तिम प्रस्तुतीका लागि छनौट भएको केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज पौडेलले जानकारी दिए । छनौट चरणमा पोखरा विश्व विद्यालयका बलराम भट्टराइ, पोखरा महानगरपालिका नगर योजना आयोगका डा. होमनाथ गैरे, आइटी एक्सपर्ट सुशिसा बराल र एनएमबी बैंकका प्रोभिन्स म्यानेजर सुदिप पौडेलले निर्णायकको भुमिका निभाएका थिए । आइडिया मार्टमा ३५ समुहले आवेदन प्रस्तुत गरेका थिए ।
अन्तिम प्रतिस्पर्धा मार्फत प्रथम हुनेले नगद ५० हजार, दोश्रो हुनेले नगद ४० हजार, तेश्रो हुनेले ३० हजार र शान्तवना स्थान हासिल गर्नेले २० हजार प्राप्त गर्नेछन । अन्तिम प्रतिस्पर्धामा पर्न सफल समुहले आगामी जेठ १८ गते शुक्रबार दिउसो १ बजे भित्र ब्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरको कार्यालयमा सम्पर्क गर्न समेत प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए । अन्तिम प्रतिस्पर्धा जेठ २० गते हुने समेत पौडेलले जानकारी दिए ।