
पोखरा,असार ३२ गते
दलित बस्तीमा वैदिक विधिअनुसार धार्मिक कर्मकाण्ड गर्दै जातीय विभेद र सामाजिक कुरीति हटाउन निरन्तर समर्पित रहनुभएका ज्यो.पं. गणेश प्रसाद पन्त पञ्चाङ्गकार सम्मानित हुनुभएको छ ।
वैदिक सनातन धर्मको संरक्षण, धार्मिक–सांस्कृतिक जागरण, सामाजिक समावेशिता तथा समाजसेवामा पुर्याएको योगदानको कदर गर्दै दिपायल सिलगढी नगरपालिकाले ज्यो.पं. गणेश प्रसाद पन्त पञ्चाङ्गकारलाई सम्मान–पत्र प्रदान गरेको छ।
दिपायल सिलगढी नगरपालिका, डोटीबाट प्राप्त सम्मान–पत्र उहाँको
जीवनको अविस्मरणीय उपलब्धि भएको भन्दै वैदिक सनातन धर्मको संरक्षण, धार्मिक–सांस्कृतिक जागरण, सामाजिक समावेशिता तथा मानव सेवाप्रतिको मेरो सानो प्रयासलाई उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गर्नुहुने दिपायल सिलगढी नगरपालिका परिवार, आदरणीय नगर प्रमुखज्यू, सम्पूर्ण जनप्रतिनिधिज्यू, कर्मचारीहरू तथा सबै शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ।
सम्मानले समाज, धर्म, संस्कृति, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र मानव सेवामा अझ बढी जिम्मेवारी, समर्पण र निष्ठाका साथ अघि बढ्ने प्रेरणा दिएको र
सम्मान आफ्नो मात्र नभई आँफुलाई निरन्तर मार्गदर्शन, साथ, सहयोग र प्रेरणा प्रदान गर्नुहुने गुरुजन, परिवार, इष्टमित्र, शुभेच्छुक तथा सम्पूर्ण सहयोगीहरूको साथ र विश्वास रहेको र भन्दै आँफु सदैव ऋणी रहेको बताउनु भएको छ।
बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका संस्कार शिरोमणि ज्यो.पं. गणेश प्रसाद पन्त ले विगत २७ वर्षदेखि दलित बस्तीमा वैदिक विधिअनुसार धार्मिक कर्मकाण्ड सम्पन्न गर्दै सामाजिक रूपान्तरणको प्रेरणादायी अभियान सञ्चालन गर्दै आउनुभएको हो।
उहाँले सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत ४११ भन्दा बढी धार्मिक कर्मकाण्ड दलित समुदायमा सम्पन्न गरिसक्नुभएको छ। उहाँको अभियान केवल धार्मिक अनुष्ठानमा सीमित नभई जातीय विभेद, छुवाछुत र सामाजिक–सांस्कृतिक कुरीति अन्त्य गर्दै समानता, सद्भाव र समावेशी समाज निर्माणतर्फको प्रेरणादायी प्रयास हो।
जिल्लाको प्रसिद्ध श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारी तथा राजज्योतिषी–राजगुरु ज्यो.पं. गणेश प्रसाद पन्त ले विगत २७ वर्षदेखि जातीय विभेद र सामाजिक कुरीति अन्त्यका लागि निरन्तर अभियान सञ्चालन गर्दै आउनुभएको छ।
उहाँका अनुसार हालसम्म दमाईँ, कामी, बादी, पोणे, कुमाललगायत विभिन्न सिल्पी समुदायका १,६९३ जनालाई जनैधारण गराइसकिएको छ भने ४११ जना दलित महिलालाई दूधागो (दोरक) धारण गराइएको बताउनु भएको छ।
पण्डित पन्तको भनाइमा धर्मग्रन्थले कुनै पनि जात वा लिङ्गका आधारमा विभेद गर्दैनन्। त्यसैले समाजमा अझै विद्यमान जातीय विभेद, छाउपडीजस्ता कुरीति अन्त्य गर्न धार्मिक अगुवाहरूले अग्रसर भूमिका निर्वाह हुनु आवश्यक रहेको बताउनु भएको छ।
धर्मलाई विभाजनको होइन, समानता, मानवता, सामाजिक सद्भाव र सकारात्मक परिवर्तनको माध्यम बनाउनुपर्ने उहाँको अभियान जारि रहेको बताउँदै धेरैका लागि प्रेरणाको स्रोत समेत बनेको बताउनु भएको छ।
जिल्लाको प्रसिद्ध श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारी तथा राजज्योतिषी–राजगुरु ज्यो.पं. गणेश प्रसाद पन्त ले कानुनले समेत अपराध मानेका जातीय विभेद र छाउपडीजस्ता सामाजिक कुरीति अन्त्य गर्न धार्मिक अगुवाहरू नै अग्रसर हुनुपर्ने बताउनु भएको छ।
उहाँका अनुसार सुदूरपश्चिमका धेरै ठाउँमा अझै पनि ब्राह्मणहरू दलित बस्तीमा गएर न्वारन, विवाह, व्रतबन्धजस्ता धार्मिक संस्कार सम्पन्न गर्दैनन् र अन्त्येष्टिस्थलमा समेत जातीय विभेद हुने गरेको भन्दै उहाँले यस्ता कुरीति अन्त्यका लागि आफू विगत २७ वर्षदेखि दलित समुदायका घरमा वैदिक विधिअनुसार धार्मिक कर्मकाण्ड सम्पन्न गर्दै भोजनसमेत ग्रहण गर्दै आएको बताउनु भएको छ।
पण्डित पन्तको भनाइमा विभेद गैरदलित र दलितबीच मात्र सीमित छैन, दलित समुदायभित्रै पनि एक समुदायले अर्को समुदायसँग पानी–भान्सा नचलाउने प्रचलन देखिनु दुःखद हो। यस्ता सबै प्रकारका विभेद अन्त्य हुनुपर्ने उहाँको जोड रहेको छ।
उहाँले धर्मग्रन्थको गलत व्याख्या र परम्पराको नाममा हुने भेदभावको विरोध गर्दै अथर्ववेदलाई कुनै जात विशेषको वेदका रूपमा प्रस्तुत गर्नु गलत भएको बताउनुहुन्छ। वैदिक ज्ञान सम्पूर्ण मानव समुदायका लागि समान रूपमा उपयोगी रहेको उल्लेख गर्दै धर्मलाई विभाजनको होइन, मानवता, समानता, सामाजिक सद्भाव र सकारात्मक परिवर्तनको माध्यम बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
दलितमाथि विभेद गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग राजगुरु ज्यो.पं. गणेश प्रसाद पन्तकोरहेको छ।
आँफुलाई सामाजिक सञ्जालमा गाली आए पनि आफ्नो धर्म र कर्मबाट विचलित नभयको र समानता र समावेशी धार्मिक अभ्यासको लागि सन्देश अझै जारी राख्ने समेत बताउनु भएको छ।
राजगुरु ज्यो.पं. गणेश प्रसाद पन्त ले आगामी दिनहरूमा पनि वैदिक संस्कारको संरक्षण, सामाजिक सद्भावको प्रवर्द्धन र मानव सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै सबैप्रति हार्दिक नमन, धन्यवाद तथा कृतज्ञता जाहेर गर्नुभएको छ।





