काठमाडौँ, १३ साउन । अघिल्ला वर्षहरुमा बढो तामझामका साथ मनाइने वीर अस्पतालको १३७ औँ स्थापना भने सम्छिप्त कार्यक्रम गरि मनाइएको छ ।

मंगलबार दिउसो सर्जिकल भवनको अडिटोरियम हलमा गरिएको औपचारिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टलाई प्रमुख अतिथिको रुपमा प्रस्तुत गरिएको थियो । कार्यक्रमको अध्यक्षता भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा विवेक आचार्यले गरेका थिए ।

कार्यक्रममा यसअघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको सहभागिता हुने भनिएको थियो । उनी सहभागि नहुने भएपछि स्वास्थ्य सचिव डा विकास देवकोटाको उपस्थिति हुनेछ भनियो तर मन्त्रालयबाट उनीहरुको सहभागिता भएन । अतिरिक्त स्वास्थ्य सचिवहरुलाई निमन्त्रणा पठाइए पनि उनीहरु आएनन् ।

वीरगञ्ज घटना पछि चिकित्सकहरुले ओपिडी बन्द गरेर आन्दोलन गरिरहेको दिनमा परेको कार्यक्रम भएकोले पनि उनीहरुको सहभागिता नभएको हुनसक्ने त्यहाँ सहभागिहरुले अनुमान गरेका थिए ।

त्यसो त यतिवेला वीर अस्पतालको नेतृत्व निमित्तको भरमा चलेको छ । अर्को व्यवस्था नहुँदासम्मको लागि भन्दै सरकारले प्राडा प्रभा चापागाँई कोइरालालाई निमित्त निर्देशक बनाएको छ । उता चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा उपकुलपति नियुक्त भए पनि शिक्षाध्यक्ष, रजिष्ट्रार तथा डीन लगायतका पदहरु अहिले पनि रिक्त छन् । त्यसले पनि अपेक्षा गरिएको जमघटमा केही बदलाव देखिएको हो ।

यसैबीच कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. भट्टले स्वास्थ्य क्षेत्रमा गरिएको लगानीलाई खर्च नभई भविष्यको लगानीका रूपमा लिनुपर्ने बताउँदै वीर अस्पताललाई चिकित्सा सेवा, शिक्षा र अनुसन्धानको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।

उनले राजधानीको मुटुमा रहेको वीर अस्पताल नेपाली नागरिकको सबैभन्दा ठूलो भरोसाको अस्पताल भएको उल्लेख गर्दै यसको गरिमा र विश्वासलाई अझ सुदृढ बनाउन सरकार, अस्पताल, विश्वविद्यालय, स्वास्थ्य बीमा बोर्ड, स्थानीय तह र विकास साझेदारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

उनले स्वास्थ्य र शिक्षा नेपालको आर्थिक विकासका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै गुणस्तरीय चिकित्सा सेवा विस्तार गर्न सके नेपाल चिकित्सा शिक्षा र स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्य बन्न सक्ने धारणा व्यक्त गरे । “विदेशमा बसोबास गर्ने नेपाली मात्र होइन, विदेशी नागरिकलाई समेत उपचारका लागि नेपाल आकर्षित गर्न सकिन्छ,“ उनले भने, “यसले सेवा निर्यात बढाउने, विदेशी मुद्रा आर्जन गर्ने र व्यापार घाटा कम गर्न सहयोग पुग्नेछ ।“

न्याम्सका उपकुलपति डा. विवेक आचार्यले वीर अस्पताल उपचार केन्द्र मात्र नभई चिकित्सा शिक्षा, अनुसन्धान र स्वास्थ्य जनशक्ति उत्पादनको ऐतिहासिक केन्द्र भएको बताउँदै उनले स्थापना कालदेखि नै नेपालमा आधुनिक एलोपेथिक स्वास्थ्य सेवाको नेतृत्व गर्दै आएको उल्लेख गरे ।

डा. आचार्यका अनुसार हाल प्रतिष्ठानअन्तर्गत एमडी, एमएस, एमडीएस, डीएम, एमसीएच, एमएन, एमएससी लगायत विभिन्न स्नातकोत्तर तथा सुपर–स्पेसालिटी कार्यक्रम सञ्चालनमा छन् । आगामी दिनमा बीएससी एमएलटी, बीएससी एनेस्थेसिया टेक्नोलोजी तथा एमएससी मेडिकल फिजिक्सलगायत नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

हालसम्म प्रतिष्ठानबाट चार हजारभन्दा बढी विशेषज्ञ स्वास्थ्य जनशक्ति उत्पादन भइसकेको तथा भारत, श्रीलङ्का, भुटान, म्यानमार, माल्दिभ्स, कम्बोडिया, इरिट्रिया लगायतका देशका १२८ भन्दा बढी विदेशी विद्यार्थीले समेत अध्ययन गरिसकेको जानकारी दिदै यो बर्ष १ हजार ६ सय विद्यार्थी रहेको बताए ।

सीमित बजेट, जनशक्ति अभाव र पुराना भौतिक संरचनाका कारण सेवा विस्तारमा चुनौती रहेको उल्लेख गर्दै उनले सरकारसँग पर्याप्त बजेट, पूर्वाधार र जनशक्ति उपलब्ध गराइदिन आग्रह गरे ।

कार्यक्रममा वीर अरुपतालका निमित्त निर्देशक प्राडा प्रभा चापागाईँ कोईरालाले वीर अस्पतालको स्वीकृत शैया क्षमता ९६० भए पनि हाल करिब ६०० शैया सञ्चालनमा रहेको बताइन ।

अस्पतालमा २२ वटा क्लिनिकल विभाग र तीन वटा क्लिनिकल युनिटमार्फत आधारभूतदेखि विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध हुँदै आएको छ । अस्पतालमा ७८ वटा आईसीयू तथा ३८ वटा एचडीयू शैयामार्फत जटिल बिरामीको उपचार भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार पछिल्लो १० वर्षमा अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) करिब ७० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/७५ मा तीन लाख ८५ हजार १३ जनाले सेवा लिएकोमा आर्थिक वर्ष २०८२/८३ मा यो संख्या बढेर छ लाख ९९ हजार ७४७ पुगेको छ । गत आर्थिक वर्षको तुलनामा ओपीडी सेवा ६.५ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा २१ हजार २२४ बिरामीले इनडोर सेवा लिएकोमा २०८२/८३ मा यो संख्या बढेर २२ हजार ७४४ पुगेको छ, जुन ७.६२ प्रतिशत वृद्धि हो ।

प्रतिवेदनमा वीर अस्पताललाई गरीब तथा विपन्न वर्गको भरोसाको अस्पतालका रूपमा उल्लेख गर्दै गत आर्थिक वर्षमा मात्रै पाँच करोड रुपैयाँभन्दा बढी बराबरको निःशुल्क उपचार सेवा प्रदान गरिएको जानकारी दिइएको छ ।

अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीमध्ये करिब २५ प्रतिशत ज्येष्ठ नागरिक रहेको तथा स्वास्थ्य बीमा कार्यक्रममार्फत ओपीडीका ३० प्रतिशत र इनडोरका ३५ प्रतिशत बिरामीले सेवा लिएको उल्लेख गरिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा मात्रै ५४ करोड सात लाख रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०८२/८३ मा अस्पतालका लागि नेपाल सरकारले एक अर्ब ५० करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा एक अर्ब १५ करोड ५५ लाख रुपैयाँ अर्थात् करिब ७८ प्रतिशत बजेट खर्च भएको जानकारी पनि कार्यक्रममा दिइयो ।

गत आर्थिक वर्षमा आकस्मिक सेवा ३५ शैयाबाट ५५ शैयामा विस्तार गरिएको, आधुनिक मोडुलर आकस्मिक सेवा भवन निर्माण अन्तिम चरणमा पुगेको, पथ्य सेवा भवन निर्माण ९५ प्रतिशत सम्पन्न भएको, डेक्सा स्क्यान सेवा सुरु गरिएको तथा कक्लियर इम्प्लान्ट, स्टेपेडोटोमी, पेन क्लिनिक, ग्यास्ट्रोइन्टेरोलोजी र न्यूक्लियर मेडिसिन सेवामा विस्तार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा स्तन, पाठेघरको मुख तथा कोलोरेक्टल क्यान्सर स्क्रिनिङ कार्यक्रम सञ्चालन गरी एक हजारभन्दा बढी नागरिकलाई निःशुल्क परीक्षण गरिएको, अनलाइन टिकट प्रणाली, युनिक हेल्थ आईडी, डिजिटल स्वास्थ्य प्रणाली तथा रियल–टाइम तथ्यांक व्यवस्थापन प्रणाली लागू गरिएको जानकारी पनि कार्यक्रममा दिइयो ।

कार्यक्रममा कार्डियोलोजी तथा जनरल मेडिसिन क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मृगेन्द्र सम्झना चिकित्सा गुठीद्वारा प्रदान गरिने ‘सञ्जना सेवा पुरस्कार’ समेत प्रदान गरिएको थियो । उक्त पुरस्कारबाट यस वर्ष कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. दीपक मिश्र र क्याथ ल्याब स्टाफ नर्स अम्बिका घिमिरे सम्मानित भएका छन् । पुरस्कार अन्तर्गत स्वर्ण पदक, प्रशंसापत्र तथा सम्मान प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0