पोखरा ,श्रावण १६ गते
“कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा सम्बर्द्धन” नारासहित दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ मनाइँदै
“कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा सम्बर्द्धन” भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ साउन १६ गते गण्डकी प्रदेशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। पौष्टिक, जलवायु अनुकूल तथा परम्परागत खाद्यान्न बालीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो।
पछिल्लो समय स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै कोदोजन्य खाद्य पदार्थको माग उल्लेख्य रूपमा वृद्धि भएको छ। तर स्वदेशी उत्पादनले बढ्दो माग धान्न नसक्दा आयातमा वृद्धि भएको देखिन्छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा ६२ करोड २८ लाख रुपैयाँ बराबरको ४४.८८ टन कोदो तथा जुनेलो आयात भएको छ। सोही अवधिमा भने जम्मा १३ लाख २५ हजार रुपैयाँ बराबरको २.११ टन मात्र निर्यात भएको तथ्यांकले स्वदेशमै उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता अझ स्पष्ट पारेको छ।
कोदो कम सिँचाइ, कम मलिलो तथा पाखोबारी जग्गामा समेत राम्रोसँग उत्पादन हुने भएकाले यसलाई जलवायु परिवर्तन अनुकूल (Climate-resilient) बालीका रूपमा लिइन्छ। कम कार्बन उत्सर्जन गर्ने यस बालीले हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा समेत सकारात्मक योगदान पुर्याउने भएकाले दिगो कृषि प्रणाली प्रवर्द्धनमा यसको विशेष महत्व रहेको छ।
रैथाने तथा पोषणयुक्त बालीको संरक्षणका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले हालसम्म कोदोका ६, चिनोको १ र कागुनोको १ गरी जम्मा ८ वटा उन्नत जात दर्ता गरिसकेको छ। यसैगरी रैथाने तथा स्थानीय बालीहरूको संरक्षण, उत्पादन विस्तार र प्रवर्द्धनका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ मा जिल्लास्थित कृषि विकास कार्यालय मार्फत १ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
रैथाने बालीको संरक्षण, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि तथा बजार प्रवर्द्धनमार्फत खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न र कृषकको आय अभिवृद्धिमा योगदान पुर्याउन कोदो लगायतका परम्परागत बालीहरूको प्रवर्द्धन आजको आवश्यकता बनेको छ। दिवस, मेला, महोत्सवले यस्ता बालीप्रतिको जनचासो अभिवृद्धि गर्दै उत्पादन र उपभोग विस्तारमा थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।स्रोत :कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0