काठमाडौं,भदौ १६ गते

 नेपाल मत्स्य विकास संघले भोटेकोशी, त्रिशूली, नारायणी लगायतका नदी बेसिन आसपासका तटीय क्षेत्रमा आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको तत्काल उद्धार, उपचार र राहतलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ।

संघका अध्यक्ष निरञ्जन थापाद्वारा जारी प्रेस वक्तव्यमा बाढी तथा पहिरोबाट मानिसको मृत्यु हुनुका साथै ठूलो संख्यामा नागरिक घाइते र प्रभावित भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। संघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

संघले विपद्का कारण मानव बस्ती, सडक, विद्यालय, पुल, जलविद्युत् आयोजना, खेतीयोग्य जमिन, घरगोठ, पशुपन्छी तथा कृषि पूर्वाधारमा व्यापक क्षति पुगेको जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारका सम्बन्धित निकायलाई आग्रह गर्दै मृतक परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरिएको छ।

विपद्को समयमा सुरक्षाकर्मी तथा स्वयंसेवकहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै संघले उनीहरूको साहस र समर्पणप्रति उच्च सम्मान व्यक्त गरेको छ। साथै, भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षा अंगहरूको संख्या वृद्धि, सबलीकरण, सुदृढीकरण र विपद् व्यवस्थापनसम्बन्धी पूर्वतयारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।

प्राकृतिक स्रोत र साधन, जैविक विविधता तथा प्राकृतिक सौन्दर्यको धनी मुलुक नेपालमा विपद् व्यवस्थापन, संरक्षण र सम्भावित जोखिम पहिचानमा पटक–पटक कमजोरी देखिँदै आएको संघको भनाइ छ। कोशी, महाकाली, रोशी, मेलम्ची, जुरे र भोटेकोशीजस्ता क्षेत्रमा विगतमा भएका विपद्को स्मरण गर्दै संघले मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय अनुभव, अत्याधुनिक सूचना प्रणाली, वैज्ञानिक अध्ययन र प्रविधिको प्रयोगमा जोड दिएको छ।

संघले विपद्लाई एउटा छुट्टै घटनाका रूपमा मात्र नहेरी विगतका महाविपद्को समीक्षा गर्दै दीर्घकालीन समाधान र पुनर्निर्माणका लागि नेपाल सरकार, सम्पूर्ण निकाय, मित्रराष्ट्र तथा विकास साझेदारहरूले प्राथमिकताका साथ काम गर्नुपर्ने बताएको छ। स्थायी विकास निर्माणका कामलाई तत्काल अघि बढाउनसमेत आग्रह गरिएको छ।

त्यस्तै, विपद्का बेला प्रभावित व्यक्तिको गोपनीयता र आत्मसम्मानमा चोट पुग्न सक्ने भएकाले सामाजिक सञ्जालमा भ्रामक सूचना तथा अतिरञ्जित दृश्यहरू नफैलाउन संघले आग्रह गरेको छ। अपुष्ट सूचना र अफवाहको पछि नलाग्न तथा आधिकारिक सूचनाको पालना गर्न आम नागरिकलाई अनुरोध गरिएको छ। विपद्को समयमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा राहतको दुरुपयोग गर्ने प्रवृत्तिमाथि आवश्यक कारबाही गर्न पनि संघले माग गरेको छ।

राष्ट्रिय विपद्को विषम घडीमा सबै पक्षबीच सहमति, सहकार्य र एकता आवश्यक रहेको उल्लेख गर्दै संघले संयुक्त राष्ट्रसंघ, दातृ निकाय, मित्रराष्ट्र तथा प्रवासी नेपालीबाट यथासम्भव सहयोगका लागि हार्दिक अपिल गरेको छ।

यसैबीच, नेपाल मत्स्य विकास संघले प्रभावित नागरिकको जीवनरक्षा तथा राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ५ हजार सहयोग गर्ने निर्णय गरेको जनाएको छ। संघले उक्त सहयोगलाई विपद्बाट प्रभावित नागरिकप्रतिको ऐक्यबद्धताको रूपमा प्रस्तुत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0