
पोखरा जेठ ०२ गते
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले नेपाली चिया उद्योगले भोगिरहेको चुनौतीप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
भारतीय चिया बोर्डले २०२६ मे १ देखि लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटीङ प्रोसिडयुअर (एस.ओ.पी) अनुसार नेपाली चियाको गुणस्तर परीक्षण रिपोर्ट महिनौंसम्म नदिइएको र त्रुटि देखिएमा भारतीय गोदाममा राखिएको चिया नष्ट गरिने नियमले उद्योगलाई ठूलो समस्या परेको छ।
नेपालका चिया उत्पादितमध्ये करिब ८६ देखि ९० प्रतिशत भारतमा निर्यात हुन्छ। अहिले भारतीय गोदाममा २ लाख किलो चिया तथा नेपालमा १० लाख किलोभन्दा बढी चिया निर्यातका लागि थन्किएको छ।
चिया उद्योगमा ठूलो आर्थिक प्रभाव परेको छ। झन्डै ३० उद्योगहरू गत असार १ देखि बन्द भइसकेका छन् र ८३ उद्योग बन्द हुने अवस्थामा छन्। यसले करिब ७० हजार मजदुर र १५ हजार किसानलाई प्रत्यक्ष असर पुर्याएको छ। चिया खेतीमा नियमित पात टिप्नुपर्ने भएकाले समस्या जति लामो समयसम्म रहन्छ, आर्थिक नोक्सानी त्यति नै बढ्नेछ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले यो संकटलाई गम्भीर आर्थिक मुद्दा मानेर नेपाल र भारतीय सरकारबीच उच्चस्तरीय कूटनीतिक पहल गरी सीमा नाकामा चेकजाँच व्यवस्था मिलाउन र दिगो निर्यातका लागि आवश्यक कदम चाल्न जोडदार माग गरेको छ। साथै, अन्य मुलुकहरूसँग पनि दिगो चिया निकासीका लागि पहल गर्न सरकारलाई आग्रह गरेको छ।

