
पोखरा ,श्रावण ७ गते
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा नगर क्षेत्रको समग्र यातायात व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित तथा वातावरणमैत्री बनाउने विषयमा सरोकारवाला निकायहरूसँग छलफल भएको छ । छलफलमा नगर क्षेत्रमा बढ्दो सवारी चापको व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, सुरक्षित तथा व्यवस्थित सार्वजनिक यातायात सेवा, वातावरण तथा पर्यावरणमैत्री यातायात प्रणालीको विकास, प्रविधिमैत्री यातायात सेवाको विस्तार तथा आधुनिक ट्राफिक व्यवस्थापनका उपायहरूबारे विस्तृत विचार-विमर्श गरिएको छ ।
नगर प्रमुख आचार्यले पोखरालाई पर्यटन राजधानीको गरिमाअनुरूप सुरक्षित, सहज, आधुनिक र दिगो यातायात प्रणालीयुक्त सहरका रूपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन महानगर, ट्राफिक प्रहरी, यातायात व्यवसायी, सम्बन्धित सरकारी निकाय तथा सरोकारवालाबिच समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख बताउनुभयो ।
छलफलमा स्मार्ट ट्राफिक व्यवस्थापन, सार्वजनिक यातायातको गुणस्तर सुधार, विद्युतीय तथा वातावरणमैत्री सवारी साधनको प्रवर्द्धन, यात्रुमैत्री सेवा विस्तार, पार्किङ व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिका विषयमा समेत छलफल भएको छ । पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको आयोजनामा सम्पन्न छलफलमा नगर क्षेत्रमा यातायात सेवा प्रदायक व्यवसायीका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।स्रोत :पोखरा महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

