
पोखरा, १० माघ
पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ को शुभारम्भ भएको छ ।
पोखरा उद्योग वाणिज्य संघ आयोजक रहेको मेलाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले हातमा रहेको स्वीच दबाएपछि मञ्चको अगाडि रहेको बत्ति स्वतः बलेको थियो । बाल्नको लागि लाइटर वा सलाई प्रयोग गर्नै नपर्ने,नजिक जानै नपर्ने त्यो अत्याधुनिक बत्तिको निर्माण इञ्जिनियर कापलिक खनालले गरेका हुन् ।
समुद्घाटन मन्तव्य व्यक्त गर्दै गण्डकीका मुख्यमन्त्री पाण्डेले पोखरा उद्योग वाणिज्य संघले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुवात गरेकोमा खुसी व्यक्त गरे । उनले मधेशका मुख्यमन्त्रीलाई यही मेलामा स्वागत गर्न तयार रहेको पनि बताए । उनले गण्डकी प्रदेशमा दुईवटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको र अब चाहिँ काम अगाडि बढेको जानकारी गराए । निजी क्षेत्रसँगको सहकार्य बिना समृद्धि प्राप्त नहुनेमा आफू प्रष्ट रहेको बताउँदै उनले वातावरण निर्माणमा लाग्ने प्रतिवद्धता पनि जनाए । संघीय सरकारले अध्यादेशमार्फत् निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको र त्यसले सिथिल अर्थतन्त्र उकासिने पनि उनको धारणा थियो । उनले मेलाको नाममा स्थानीय जनताको पैसा बाहिर जानु स्थानीयको लागि न्यायोचित नभएको पनि बताए ।
‘कति मान्छे आए,कति आम्दानी भयो भन्नेतिर नलाग्नुहोस् । त्यता लाग्ने हैन । कि मनोरञ्जन मेला भन्नुप¥यो । व्यापार मेला भनेपछि स्थानीय उत्पादनको प्रदर्शन हुनुपर्छ । यहाँ मधेश प्रदेशबाट सांस्कृतिक कार्यक्रम आएको रहेछ । हामीले दुईवटा नाच हे¥यौँ । हाम्रो लागि नयाँ अनुभव भयो । यो हेरेपछि हामीले पनि अन्य प्रदेशमा एउटा स्टल राख्ने, हाम्रा उत्पादन देखाउने, यहाँको संस्कृति देखाउने र पर्यटन प्रवद्र्धन गर्ने काम गरिनुपर्छ । हामी यसमा सहकार्य गर्न चाहन्छौँ,’उनले भने,‘ हाम्रो परम्परागत शैली के छ भने, राष्ट्रिय कलाकार भनेर बाहिरबाट मान्छे बोलायो । पोखरेली जनताको पैसा आएको जति बुझाएर पठाइदियो । पिङ भन्यो, डुंगा दौड भन्यो यताको पैसा उता पठाइदियो । यस्तो हुनुहुँदैन ।’
मुख्यमन्त्रीको संवोधन यस्तो थियो :हामीले केही कुरा गर्नुछ, गण्डकीलाई प्रमोट गर्नका लागि । भर्खरै कोरला नाका सुचारु भएको छ । त्यहाँ एउटा अध्यागमन कार्यालय पनि सुरुवात भएका छ तर पूर्ण रुपले संचालन गर्न सकिएको छैन । त्यसलाई पूर्ण रुपले संचालन गरेर पोखराबाट कोरोला नाकासम्म जोड्ने बाटो र पोखराबाट त्रिवेणी जोड्ने बाटोलाई गुणस्तरीय सडक बनाएर संचालन गर्न सक्यौँ भने यो गण्डकी प्रदेशको व्यापारमा ठूलो फाइदा गर्छ भन्ने लाग्छ । हुन त, त्यो अध्यागमन कार्यालय हामीले संचालन गर्ने हैन । तर,अघिल्लोपटक म त्यहाँ जाँदा केही पनि थिएन । म जाँदा हावाहुरी चलेको,पानी परेको थियो । त्यहाँ जाँदा आपत पर्दा आश्रय लिने ठाउँ पनि थिएन । हावाहुरी आउँदा बस्ने ठाउँ पनि थिएन । त्यही देखेर मैले त्यहाँ एउटा अस्थायी भवन बनाउनुपर्छ भनेर बनाएको हो । त्यहाँ हामीले भौतिक संरचना बनाउन पनि सक्दैनौँ अनि अध्यागमन कार्यालय निर्माणको अधिकार हाम्रो पनि हैन । म जाँदा आपतकालीन भनेर बनाएको भवनमा अध्यागमन कार्यालय चलेको छ । त्यहाँ स्थायी संरचना बनाउनुपर्छ । कुरा चलेको छ । त्यो बन्यो भने तिब्बतसँगको ठूलो व्यापार यतैबाट हुनसक्छ । मैले चिनियाँ मित्रहरुसँगको भेटमा भनेको छु । अहिले भारतीयको लागि मानसरोवरको यात्रा खुलेको छ । पहिला बन्द थियो । जो भारतीय वा नेपाली धार्मिक यात्रु मानसरोवर जान चाहन्छन् । उनीहरुलाई यो बाटोबाट पठाउनुपर्छ । यो नै छोटो बाटो हो । यसलाई प्रमोट गर्नुपर्छ भनेर लागिरहेको अवस्था छ । दक्षिणतर्फको त्रिवेणी नाका संचालनमा छ । तर, बीचमा राष्ट्रिय निकुञ्जको बफर जोन परेकाले हामीले ८ किलोमिटर बाटो बनाउन पाएका छैनौँ । हामीले पटक–पटक लेखेर राष्ट्रिय समन्वय परिषदको बैटकका राष्ट्रिय समस्या समाधान समितिको बैठकमा यो समस्यालाई अवगत गराउँदै आएका छौँ । अहिले हामीले इआइए गर्ने अनुमति पाएका छौँ,त्यो बाटोको लागि । हामी छिट्टै गर्छौँ पनि । तर, मलाई डर लागेको छ । अस्ति भर्खर हालसालै सर्वोच्च अदालतले सरकारले बनाएको कानून खारेज गरेको छ । त्यो कानूनमा आरक्षित र राष्ट्रिय निकुञ्जभित्र संरचना निर्माण गर्ने गरी अध्यादेशमार्फत बाटो खोलिएको थियो । अहिले खारेज भएपछि कतै रोकिन्छ कि भन्ने लागेको छ । तर, हामी खोल्नेतर्फ लागेका छौँ । एउटै पालिकाको मान्छे,त्यही पालिकाको केन्द्रमा आउँदा अर्को प्रदेशको बाटो प्रयोग गर्नुपर्ने अवस्था छ । त्यो बाटो खोल्न सकियो भने यो प्रदेशको आर्थिक विकास हुन्छ भन्ने कुरा बताउनु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

