चितवन ,पौष ७ गते
विश्व सम्पदामा सुचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये चितवन सौराहा जैविक विविधता तथा बन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत परिचित रहेको यस क्षेत्रलाई रत्ननगर नगरपालिकाको संरक्षकत्वमा, क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि को सह-आयोजनामा यही पौष ११ देखि १३ गते (2025 December 26 to 28) सम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ हुन गइरहेको जानकारी गराउन पाउँदा हामी हर्षित छौं ।
महोत्सव बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय श्री इन्द्रबहादुर बानियां ज्यूको वाहुलीबाट समुद्घाटन हुनेछ ।५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न वि.सं. २०५५ सालबाट सुरु भएको चितवनहात्ती तथा पर्यटन महोत्सवले समग्र चितवन जिल्लाको पर्यटन विकासमा योगदान दिँदै आएको छ तर पछिल्लो केहि वर्ष यता संरक्षणमा चासो राख्ने केहि व्यक्तिहरुले चितवन हात्ती महोत्सव तथा पर्यटन महोत्सवलाई हात्तीलाई क्रूरतापूर्ण व्यवहार गरिएको भन्ने नकारात्मक टिप्पणी गर्दै आउनु भएकोमा यसलाई हामीहरुले सहर्ष स्वीकार गर्दै हात्ती महोत्सवका गतिविधिहरूमा कुनै पनि प्रकारको अत्याचार वा क्रुरता अनुमति छैन भन्ने विश्वास दिलाउन चाहन्छौं ।
आयोजक समिति, चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ( DNPWC), नेपाल पर्यटन बोर्ड र पशु चिकित्सकहरूको सहकार्यमा कडा मापदण्डहरू बनाइएका छन् । धारिलो वा हानिकारक उपकरणको प्रयोग कडाईका साथ निषेध गरिएको छ । सबै हात्तीहरूलाई प्रतियोगिता अघि र पछि पशु चिकित्सकद्वारा परिक्षण हुनेछ । केवल योग्य जनशक्ति (माहुते) (जसले दैनिक रूपमा हात्तीको हेरचाह गर्छन् ) मात्र सहभागी हुन पाउँछन । कार्यक्रमहरूलाई प्रतिस्पर्धी होइन, समन्वय, परम्परा र सद्भावमा केन्द्रित गरी पुनःरचना ग्रिएको छ ।चितवनको सौराहामा दुई दशक अघि देखि आयोजना हुँदै आएको यस महोत्सवले सौराहा सहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र चितवनका पर्यटकिय गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको छ ।
महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको छ । महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्व समेत उजागर गर्दै आएको छ । अर्न्तराष्ट्रिय स्तरमा महत्व राख्ने चितवन हात्ती तथा पर्यटन महोत्सवको आफ्नै गौरवशाली इतिहास रहेको छ । हात्ती र पर्यटन सौराहाको पर्यायवाची जस्तै बनेको हुंदा यस महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ भन्ने हामीलाई लागेको छ । तसर्थ यहाँहरुको सहयोगले गर्दा नै हामी १९ औं संस्करण सम्म पुग्न सफल भएको पनि यस पत्रकार सम्मेलन मार्फत जानकारी गराउछौं । चितवन हात्ती तथा पर्यटन महोत्सवलाई सफल बनाउन तीनै तहका सरकार सहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र चितवन राष्ट्रिय निकुञ्जको अतुलनीय सहयोग प्रति पनि आभारी छौं । I
चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनाउन समेत यस महोत्सवको अभिप्राय रहेको छ । सौराहा लगायत चितवनका अन्य पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा यहाँहरुबाट विगतमा भएका प्रयासहरुलाई हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछौं । सफारी पर्यटनको रुपमा विकास भएको समग्र चितवनको पर्यटन हात्ती विना कल्पना गर्न नसकिनेकुरा सर्वविदितै छ । पर्या-पर्यटन सम्बन्धित गतिविधिहरु र स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै राष्ट्रिय स्तर सम्म पहिचान गराउन सक्नु पनि महोत्वसको विशेषता हो ।
चितवन हात्ती तथा पर्यटन महोत्सवको अवसरमा पौष ११ देखि १३ गते सम्म क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहामा आवद्ध संदस्यहरुको होटल तथा रेष्टुरेण्टमा खाना र आवासमा १०% छुट दिएका छौं ।
डिजिटल प्रविधिबाट कार्यक्रमहरुको प्रवर्द्धन गर्ने र यस वर्ष देखि वन्यजन्तु तथा वातावरण मैत्रीको लागि प्रकृति अनुकुल स्टल र स्टेजहरु निर्माण गरिरहेको समेत जानकारी गराउदछौं । यहाँका बहुल जाती, बहुभाषा र कला संस्कतिको प्रवर्द्धन गर्दै भाविष्यको संरक्षण गर्नु पनि महोत्सवको विशेषता हो। चितवन हात्ती तथा पर्यटन महोत्सवले विगत देखि नै अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन विकासमा सघाउ पुऱ्याउदै आएको सर्वविदितै छ, भने यस महोत्सवले अगामि दिनमा अझ थप उर्जा प्रदान गर्ने कुरामा हामीहरु आशावादी छौं ।
महोत्सव अन्तर्गत हुने उल्लेखित विभिन्न गतिविधिमा करीव ८० वटा हात्ती सहभागी हुनेछन् ।चितवनको सौराहाको हात्ती महोत्सव मानव र वन्यजन्तुबीचको सह-अस्तित्वको जीवित उदाहरण हो । जसमा परम्परा, जिविकोपार्जन र संरक्षण सन्तुलनमा छन ।हामी खुला संवाद र सहकार्यको भावना प्रोत्साहित गरी हात्तीमाथी क्रूरतापूर्ण व्यवहार गरियो भन्ने निकायहरु र हाम्रो आयोजक सर्माित मिलेर उच्च वन्यजन्तुमैत्री मापदण्ड, जिम्मेवार पर्यटन, सांस्कृतिक पर्यटन, जैविक विविधता र पर्यावरणीय स‌द्भाव प्रवर्द्धन गर्न सहज बनाउन आग्रह पनि गर्दछौं जसले चितवनको पर्यटन अझ मजबुत बन्नसकोस् ।
३ दिनसम्म संचालन हुने महोत्सवको आर्कषणहरुः-
1 करीब ७० वटा हात्तीहरु द्वारा शोभा यात्रा
2 विभिन्न जात जातिको सांस्कृतिक झाँकी प्रदर्शन
3 हात्तीको श्रृंगार प्रतियोगिता कार्यक्रम स्थलमा प्रत्यक्ष हात्ती माउते द्वारा हात्तीलाई श्रृंगार पटार गरिने ।
4 हात्ती बनभोज- देशका विभिन्न क्षेत्रका प्रतिष्ठीत व्यक्तित्वहरुले प्रत्येक हात्तीहरुलाई आफ्ने प्रतिनिधि हात्तीलाई स्वयं बनभोज गराउने ।
5 हात्तीको स्वास्थ्य शिबिर
6 हात्तिको दिनचर्या बारे जानकारी
7 पालिका स्तरीय डुङ्गा रेस प्रतियोगिता
8 हात्तीमैत्री प्रतियोगिताहरु
9 सफारी टुरिजम प्रबर्द्धनको लागि अतिथि पाहुनाहरुलाई हात्ती सफारी/जीप सफारी/डुङ्गा सफारी गराउने ।
10 चितवनमा पर्यटनको सम्भावना तथा चुनौती सम्बन्धी किदु.वि अन्तरकृया कार्यक्रम
11 राष्ट्रिय तथा स्थानिय पत्रकारज्यु, भ्लगर, साहित्यकार तथा युटुबरहरुलाई आमन्त्रण गरि पर्यटन सम्बन्धी प्रवर्द्धनात्मक भिडियो निर्माण गर्ने ।
12 लाइभ चित्रकला प्रतियोगीता जस्तै मानव वन्यजन्तु सह अस्तित्व र पर्यापर्यटन र संरक्षणमा हात्तीको महत्व ।
13 मानव वन्यजन्तु सह अस्तित्व, पर्यापर्यटन र संरक्षणमा हात्तीको महत्व सम्बन्धी विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता ।
14 स्थानीय कलाकारहरु द्वारा विविध सांस्कृतिक कार्यक्रमहरु
15 महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रबर्द्धन
16 मानव वन्यजन्तु सह अस्तित्व र पर्यापर्यटन र संरक्षणमा हात्तीको महत्व बारे संरक्षणकर्मी, वातावरणविद् पुर्व संरक्षण अधिकृतहरुको सन्देशमुलक श्रव्यदृष्य सामाग्री निर्माण गर्ने ।
आयोजक :- क्षेत्रीय होटल संघ नेपाल चितवन
स्थान :- रत्ननगर वडा नं.७, बाघमारा वनको चउर, सौराहा ।
मुख्य सह-आयोजक : युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लि.
सह-आयोजक :- रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल, सौराहा
संरक्षकः- रत्ननगर नगरपालिका कार्यालय
प्रवर्द्धकः-
१. सँस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश ।
३. नेपाल पर्यटन बोर्ड, भुकटीमण्डप
४. पर्यटन कार्यालय, सौराहा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0