
काठमाडौँ,चैत्र ४ गते
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रमकाे दाेश्राे दिनकाे सुरूवात याेगध्यान कक्षासँगै सुरू भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि कुनै पनि प्रकारको लबिङ वा ‘मिडिया ट्रायल’ नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिनुभएको छ ।सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उहाँले सरकारमा जाने विषयलाई लिएर बाहिर जथाभावी नबोल्न सचेत गराउनुभएको हो । रास्वपाले अभूतपूर्व जनमत पाएको र सरकारमा जाने सम्भावना रहेको सन्दर्भमा सांसदहरूबीच मन्त्री बन्ने आकांक्षा बढ्नु स्वाभाविक भए पनि त्यसलाई मिडियाबाजीको विषय नबनाउन उहाँले आग्रह गर्नुभयो ।समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण तथा नीतिगत प्राथमिकताबारे स्पष्ट पार्दै सांसदहरूलाई अनुशासित, उत्तरदायी र परिणाममुखी राजनीति अभ्यास गर्न आग्रह गर्नुभयो । उहाँले जनताको विश्वासलाई कार्यसम्पादनमार्फत् प्रमाणित गर्नुपर्ने उल्लेख गर्दै संसदभित्र र बाहिर दुवै क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । रास्वपाले आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने प्राप्त गरेकाे उल्लेख गर्दै सभापति लामिछानेले यो जित रास्वपाको नभइ जनताको हो भएकाले अझै धेरै जिम्मेवार बन्नुपर्नेतर्फ सचेत गराउनुभएकाे थियाे । साथै महान् शहिदहरुकाे त्याग लाई मनन गर्दै सबैभन्दा महत्वपूर्ण मुद्दा सामाजिक न्याय भएको बताउनुभयाे ।