पोखरा , असार ९ गते

कोटिहोम महायज्ञमा करिब पाँच करोड दीप प्रज्वलन
भरतपुर । योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा सोमबार करिब पाँच करोड दीप प्रज्वलन गरिएको छ । यसअघि पाँच सरे सवा करोड दीप प्रज्वलन गर्ने भनिएकामा करिब पाँच करोड दीप पुगेको हो ।
महायज्ञलाई विभिन्न भक्तजन र आमा समूहहरुले पाँच सरे बत्ती उपलब्ध गराएका थिए । उक्त बत्ती वागीश्वरी मन्दिर र कोटिहोम मन्दिरको प्रांगणमा भक्तजनहरुको सहभागीतामा प्रज्वलन गरिएको हो ।
गोरखनाथको तान्त्रिक बिजमन्त्रद्धारा गरिएको सवा करोड हवन सोमबार सम्पन्न भएकाले दीप प्रज्वलन गरिएको महायज्ञका मुलकर्ता एवम् संयोजक प्रेमनीधि भारद्धाजले जानकारी दिए । ‘भगवानको कृपाले सबै दीप प्रज्वलित भएपछि वर्षा पनि भयो । सोमबार नै अस्तु भष्म गराउने काम पनि सम्पन्न भयो’, उनले भने ।
असार १४ गते महायज्ञको पूर्ण आहूति हुँदै छ । पूर्ण आहूतिको दिन भक्तजनलाई विभूतिको प्रसाद वितरण गरिनेछ । हवन गरेको भष्मलाई विभूति भनिन्छ । अब असार १४ गतेसम्म दैनिक ४६ हजार तर्पण मार्जन (हवन) हुने उनले जानकारी दिए ।
गत वैशाख १७ गतेदेखि श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ सुरु भएको थियो । राष्ट्रगुरू योगी नरहरिनाथको संकल्पमा भएको महायज्ञमा यसअघि नौ वर्ष मुनिका एक हजार आठ बालिकाको सामुहिक पुजन गरिसकिएको छ । राष्ट्र शान्ति, राष्ट्रको कल्याण, विश्व शान्ति र विश्वको कल्याणका लागि महायज्ञ आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0