
पोखरा, जेठ २५ गते
पोखराको प्रतिष्ठित शैक्षिक संस्था शान्ति निकेतन स्कुलले वर्षेनी उत्कृष्ट एसइई नतिजा निकाल्दै आएको गौरवलाई निरन्तरता दिँदै यसै शैक्षिक सत्रदेखि उच्च माध्यमिक तहमा कक्षा ११ को पठनपाठन सुरु गरेको छ। विज्ञान र व्यवस्थापन संकायमा पहिलो वर्षमै १२० जना विद्यार्थी भर्ना भएका छन्, जसमा गुणस्तरीय विद्यार्थीको सहभागिता उत्साहजनक रहेको छ।
विद्यालयले आधुनिक भवन र सुविधासम्पन्न कक्षा सञ्चालन गर्दै प्रातः, दिवा सत्रमा विभिन्न संकायहरूलाई व्यवस्थित रुपमा सञ्चालन गरिरहेको छ भने निकट भविष्यमा मानविकी संकाय थप गर्ने योजना समेत छ। नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम पनि आयोजना गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिहरूले सफलताको लागि इमान्दारिता, लक्ष्य निर्धारण र निरन्तर मेहनत अपरिहार्य रहेकोमा जोड दिनुभयो। विद्यालयका प्राचार्य तथा व्यवस्थापन समितिले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीहरूलाई उज्ज्वल भविश्यको शुभकामना दिएका छन्।
यसैगरी, विद्यालयका विद्यार्थी र अभिभावकले पनि मेहनतपूर्वक अध्ययन गर्ने प्रतिबद्धता जनाएका छन्। शान्ति निकेतनले उच्च माध्यमिक तहमा पनि आफ्नो गौरवशाली इतिहासलाई निरन्तरता दिँदै पोखराको शैक्षिक क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ।

